images

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, तीनको मृत्युको ५२ घाइते

काठमाडौं– सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् ।

दोलखाबाट जन्ती बोकेर सिन्धुपाल्चोकको पिस्करतर्फ जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा दुर्घटनामा परेको हो ।

शुक्रवार बिहान दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतिबाट बेहुला सहित ५५ जना बोकेर पिस्कर हिँडेको बस तौथली बुलबुलेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका १ दोलखाका अन्दाजी ७० वर्षीया मान बहादुर थामी, सोही वडाका अन्दाजी वर्ष १६ का शिव श्रेष्ठ र भीनपा १ कै अन्दाजी १७ वर्षीया दिपेन्द्र थामीको घटनास्थलमा मृत्यु भएको भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धरले जानकारी दिए ।

दुर्घटनामा परेर ५२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस तौथली बुलबुलेको सडकबाट करिब १०० मिटर तल खसेको हो ।

दुर्घटनामा परेर घाइते भएकाहरूलाई खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल लगिएको छ ।