images

स्वास्थ्य उपकरण आयात प्रतिस्थापन गर्न मुलुकभित्रै उत्पादन जरुरी छः स्वास्थ्य मन्त्री यादव

काठमाडौं– उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य उपकरणको आयात प्रतिस्थापन गर्न मुलुकभित्रै गुणस्तरीय उत्पादन आवश्यक भएको बताएका छन् ।

काठमाडौंमा फरच्युना हेल्थ केयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले उक्त कुरा बताएका हुन् । उनले नेपाल स्वास्थ्य उपकरणको क्षेत्रका शतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्भर रहेको उल्लेख गरे । उनले सरकार र निजी क्षेत्र गरेर वार्षिक खर्बौँका स्वास्थ्य उपकरणहरू आयात हुने गरेको जानकारी दिए । स्वास्थ्य मन्त्री यादवले वार्षिक रूपमा आयात हुने खर्बौँको स्वास्थ्य उपकरण आयात प्रतिस्थापनको लागि मुलुक भित्रै उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले अहिले मेडिसिन र फर्मा क्षेत्रमा मुलुकभित्रै ५० प्रतिशत माथि लगानी पुगेको भन्दै स्वास्थ्य उपकरण उत्पादनमा पनि लगानी आवश्यकता रहेको बताए ।

स्वास्थ्य मन्त्री यादवले आफ्नो उत्पादन नभएर सिरिन्जमा मुलुक विदेशीमा निर्भर भएको अवस्थामा फरच्युना सिरिन्ज उद्योगले राम्रो बजार पाउने विश्वास रहेको बताए । उनले नेपाली बजार र नेपाली उपभोक्ता,स्वास्थ्य संस्था र अस्पतालहरूमा फरच्युना सिरिन्जलाई पहिलो प्राथमिकता दिने बताउनु भयो । उहाँले विदेशबाट ल्याउने स्वास्थ्य उपकरण कमसल हुँदा समेत विदेशी कम्पनीलाई राज्यले केही भन्न नसक्ने अवस्था रहेको बताए । उनले स्वास्थ्य उपकरणहरू सम्भव भएसम्म आफ्नै मुलुकमा उत्पादन राज्य र निजी क्षेत्र लाग्नु जरुरी देखिएको बताए ।

उनले भने,‘नेपाल सिरिन्जमा विदेशीमा निर्भर भएको र आफ्नो उत्पादन नभएको ठाउँमा फरच्युना सिरिन्ज उद्योगले स्वास्थ्य उपकरणको क्षेत्रमा बजार पाउने छ । नेपाली बजार र नेपाली उपभोक्ता,स्वास्थ्य संस्था र अस्पतालहरूमा सिरिन्जले स्थान पाउने छ । स्वास्थ्य उपकरणमा निजी क्षेत्र र सरकारी क्षेत्रमा हेर्दा वार्षिक रूपमा खर्बौँको आयात गरिरहेका छौँ । विदेशबाट ल्याउने स्वास्थ्य उपकरण २ वर्षको ग्यारेन्टी लेखिएको हुने भए पनि काम नलाग्ने अवस्थाका उपकरण आउने गरेका छन् । स्वास्थ्य उपकरणहरू सम्भवभएसम्म आफ्नै मुलुकमा उत्पादन गर्न सक्ने ठुलो सम्भावना छ । ठुला उपकरणहरू उत्पादन गर्न सम्भव नभए पनि सामान्य उपकरणहरू उत्पादन गर्न हाम्रै मुलुकमा सम्भव रहेको छ । त्यसको लागि निजी क्षेत्र तयार हुनुपर्छ । अहिले कोरोनापछि अर्थतन्त्रमा केही शिथिलता छ । यो केही समय रहन्छ र जान्छ । नेपालमा स्वास्थ्य उपकरण उत्पादनमा लगानी गर्न सक्ने ठुलो सम्भावनाको क्षेत्र हो । तर मुलुक सत प्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्भर छौँ । मेडिसिन र फर्मासिटिको क्षेत्रमा पनि ५० प्रतिशत लगानी भएको छ । छिमेकी मुलुकले ९० प्रतिशत माथि गरिसक्यो । बंलादेशले विश्व बजारमा पनि स्थान लिएको छ । उत्पादनमा गुणस्तर दिन सक्यो भने फर्मासिटिको क्षेत्रमा प्रशस्त सम्भावना छ । यस्तो सम्भावना भएको क्षेत्रमा लगानीको सुरुवात भएको छ । त्यो स्वागत योग्य छ ।’

उनले छिमेकी मुलुक बंलादेशले स्वास्थ्य मेडिसिनको क्षेत्रमा ९० प्रतिशत लगानी गरेर अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच पु¥याएको बताए । उनले नेपालमा पनि लगानी बिस्तार गरी गुणस्तरीय वस्तु उत्पादन गरी विदेश निर्यात गर्न सक्ने सम्भावना रहेको दाबी गरे ।