images

कोशीमा सङ्कल्प प्रस्ताव बहुमतले पारित

विराटनगर– कोशी प्रदेशबाट सङ्कल्प प्रस्ताव पारित भएको छ । शुक्रवार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवती रमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस गरेको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो ।

सङ्कल्प प्रस्तावमा ‘चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ । ‘बहुमत सांसदले समर्थन फिर्ता लिएकोले नियमित कार्यबाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस्’ भन्ने सो प्रस्तावमा उल्लेख छ ।

सङ्कल्प प्रस्ताव पारित भएपछि नेकपा एमालेका सांसदले सङ्कल्प प्रस्तावको पक्ष विपक्षमा मत विभाजन गर्न माग गरेपछि सभामुखले मत गणना गर्न निर्देशन दिएका थिए । सङ्कल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेका थिए । सभामुखले प्रस्तावको पक्ष विपक्षमा रहेका मत गणना गर्ने प्रक्रियामा कांग्रेसका सांसदले भाग लिएका थिएनन् । त्यस्तै मत दिन्न भन्ने पक्षमा भने तीन सांसद रहेका थिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सभाको बैठकमा सङ्कल्प प्रस्ताव संविधान विपरीत आएको भन्दै आफू संविधानको धारा भन्दा बाहिर नजाने बताएका छन् । उनले सङ्कल्प प्रस्ताव पारित भए पनि नभए पनि आफूले राजीनामा नलिने र विश्वासको मत पनि नलिने बताउँदै आएका छन् ।