images

पृथ्वी दिवसको अवसरमा तीन दिनसम्म पुरातात्त्विक सम्पदाको सरसफाइ

काठमाडौं–विश्व पृथ्वी दिवसका अवसरमा काठमाडौंका मुख्य पुरातात्त्विक सम्पदाको सरसफाइ गरिएको छ । युनिभर्सल पिस सेन्चुरी लगायत विभिन्न सङ्घ संस्थाको सहकार्यमा शनिवार विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ गरिएको छ ।

अभियानअन्तर्गत आइतबार पशुपतिनाथमा पनि सरसफाइ गरिएको छ भने, भोली(सोमबार) बौद्ध क्षेत्रमा सरसफाइ गरिने अभियानका समन्वयकर्ता नवीन महर्जनले जानकारी दिए ।

विश्व पृथ्वी दिवस २०२४ मा यस पटकको नारा पनि पृथ्वी र प्लास्टिक राखिएको छ । नेपालमा पनि प्लास्टिकको अधिक प्रयोगले वातावरणमा धेरै असर प्रभाव परेको, फोहोरमा अत्यधिक मात्रामा प्लास्टिकको मिश्रणले फोहोर व्यवस्थापन कार्य समेत चुनौतीपूर्ण बन्दै गइरहेको जनाउँदै अभियानले यस्ता विषयमा समेत सचेतना अभियान सञ्चालन गर्ने जनाएको छ ।

सरसफाइ गर्दा सङ्कलन भएको फोहोरमध्ये कागज, कपडा, प्लास्टिक र सिसा पुनः चक्रणका लागि पठाइएको छ भने कुहिने फोहोर मात्र ल्यान्डफिल साइट पठाइएको छ। महर्जनका अनुसार सङ्कलितमध्ये ८५ प्रतिशत फोहोर पुनः चक्रण हुने गरेको छ। बाँकी १५ प्रतिशत मात्र ल्यान्डफिल साइटमा विसर्जन गरिनेछ।

सरसफाइ कार्यक्रममा युनिभर्सल पिस स्यान्चुरी तथा श्याल्पो गुम्बाका गुरु श्याल्पा रिन्पोछे, नेपाल सरकारका पूर्व मुख्य सचिव, पूर्व राजदूत एवं लीलामणि पौडेल, काठमाडौं महानगरपालिका १५ का वडा अध्यक्ष ईश्वरमान डङ्गोल, वडा सदस्य विजु श्रेष्ठ, युनिभर्सल पिस स्यान्चुरीको तर्फबाट सरसफाइ कार्यक्रमका संयोजक छोईङ देचेन, फोहर मैला व्यवस्थापन सङ्घका महासचिव, परिवर्तन सेवा प्रा।लि का प्रबन्धक मित्र प्रसाद घिमिरे, क्विन इट अपसाइक्लर्सका प्रमुख कार्यकारी अधिकृत शशी किरण थापा, बागमती अभियान किशोर शाही लगायतका अभियान्ताहरुको सहभागिता रहेको थियो । यो दिवस विश्वका १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइने गरिन्छ ।

सन् १९६९ अमेरिकाको सान फ्रान्सस्किोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको वसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । त्यस दिन देखि आजसम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरी नै विश्व पृथ्वी दिवस मनाउन थालिएको हो ।

हरेक वर्ष २२ अप्रिलमा विश्व पृथ्वी दिवस मनाइन्छ। यस वर्षको विश्व पृथ्वी दिवसको नारा ‘पृथ्वी र प्लास्टिक’ राखिएको छ।