images

रामेछापको साँघु टारमा आगलागीबाट ६ घर जलेर नष्ट

रामेछाप–रामेछाप नगरपालिका वडा नं. ३ साँघु टारको ठाडा खोलामा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ । आइतबार(आज) दिउँसो १२ बजेको समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा यति धेरै क्षति भएको हो । आगलागीबाट दिर्घमान श्रेष्ठको १ वटा ढुङ्गाको छाना र २ वटा खरको छाना भएको घर जलेर नष्ट भएको छ ।

सोही ठाउँका खड्ग बहादुर कुमालको १ वटा जस्ताको छाना भएको घर,१ वटा ढुङ्गाको छाना भएको घर र १ वटा खरको छाना भएको मतान पूर्ण रूपमा जलेको वडा नं ३ का वडाध्यक्ष दल बहादुर प्रधानले जानकारी दिए । घरमा लागेको आगो निभाउने क्रममा दिर्घमान श्रेष्ठ घाइते भएका छन् ।

आगलागीबाट खड्ग बहादुर कुमालले पालेको ६० वटा ब्रोइलर कुखुरा पनि जलेर नष्ट भएको वडाध्यक्ष प्रधानले जानकारी दिए । आगलागीबाट ६ घरको घरमा भएको सबै अन्नपात, लत्ताकपडा, नगद सबै जलेर नष्ट भएको हो । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । स्थानीयहरू आगो नियन्त्रणमा खटिएका छन् ।