images

देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँ छ – महत

इटहरी– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् । सोमबार नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा राखेको अन्तरक्रिया कार्यक्रममा डा. महतले देशमा भएको गठबन्धन परिवर्तनका कारण अन्योल र अस्थिरता सृजना भएसँगै वर्तमान नेतृत्व सरकारको आयुसमेत छोटिँदै गएको बताए ।

उनले एमालेसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयबारे पछिल्लो समय छलफल नभएकोसमेत बताए ।

‘नेताहरूले विभिन्न कुरा उठाउनुभएको छ, कसैले एमालेसँग मिलौँ पनि भन्नुभएको छ । सबैको विचारहरू आइरहेका छन् । कसैले कांग्रेसको नेतृत्वमा बहुमत आउने गरी आगामी चुनाव पर्खिनुपर्छ भन्ने कुरा पनि छ,’ उनले भने, ‘हामीले अहिल्यै वैकल्पिक सरकार बनाउने कुराको गृहकार्य गरेका छैनौँ । अविश्वास र विरोधाभासका कारण यो सरकारको आयु आफैँ छोटिदैँछ ।’

उनले वर्तमान गठबन्धनमा रहेका दलहरू बिच नै चर्को मतभेद र अविश्वास व्याप्त रहेको जिकिर गरे । अस्थिरताका कारण अन्तर्राष्ट्रिय स्तरमै सरकारप्रति अविश्वास बढेको बताउँदै उनले पछिल्लो समय आर्थिक क्षेत्रसमेत चलायमान हुन नसकेको बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका महतले आफू अर्थमन्त्री हुँदा बाह्य सूचक र आर्थिक लयले सकारात्मक प्रभाव पारेको भए पनि पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसकेको बताए ।

सरकारले प्राथमिकताको क्षेत्रमा लगानी गर्नुपर्ने भए पनि जथाभाबी बजेटको दुरुपयोग गरिहरेको उनको भनाइ छ । कांग्रेसले गृहमन्त्रीसमेत रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेको सहकारी ठगी विषयमा संसदीय छानबिन गर्न अडान राखिराखेको समेत उनले बताए ।

‘सहकारी ठगीबाट बचतकर्ता मारमा परेको र स्वयम् गृहमन्त्री सुरक्षा निकायको प्रमुख भएका कारण गैर कानुनीको विषय छर्लङ्गै भइसकेको छ । जुन निकायको प्रमुख उहाँ हुनुहुन्छ, उहाँलाई नै छानबिन गर्ने कुरा नभएका कारण संसदीय छानबिन बनाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘हामीले आधार र तथ्यमा टेकेर यो कुराको उठान गरेका हौँ, जनतामाझ स्पष्ट छ ।’

यसैबिच यही वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाममा कांग्रेसले जित्नेसमेत उनको दाबी छ । यसअघिकै उम्मेदवार दोहोरिनु र स्थानीय स्तरका मानिसको दुःखसुखमा डम्बर खड्काले सहयोग गर्नुका कारण उनैको जित निश्चित रहेकोसमेत डा। महतको दाबी छ ।

‘उहाँ यसअघि पनि झिनो मतले पराजित हुनुभएको र त्यस क्षेत्रका जनताको दुःखसुखको साथी भएका कारण कांग्रेसले चुनाव जित्ने निश्चित छ । हुन त चुनाव प्रतिस्पर्धा पनि हो उनले भने ।’