images

अमेरिकी सिनेटबाट टिकटकमाथिको प्रतिबन्ध लगाउने विधेयक पारित

काठमाडौं– सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सिनेटबाट पारित भएको छ ।

टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने विधेयक अमेरिकी सिनेटले अनुमोदन गरेको हो । यो कदम ९५ अर्ब डलरको विदेशी सहायता प्याकेजको हिस्सा थियो । उक्त प्याकेजमा युक्रेन, इजरायल र ताइवानलाई सैन्य सहायता पनि समावेश थियो ।

यसलाई अहिले सिनेटले अनुमोदन गरेको छ र प्रमाणीकरणका लागि राष्ट्रपति जो बाइडेनको डेस्कमा पुगेको छ । अमेरिका र अन्य पश्चिमी अधिकारीहरूले युवामाझ टिकटकको लोकप्रियताप्रति चिन्ता व्यक्त गर्दै यसले बेइजिङलाई डाटा सङ्कलन गर्न र प्रयोगकर्ताहरू विरुद्ध जासुसी गर्ने अनुमति दिने आरोप लगाएका छन् ।

अमेरिकामा मात्र टिकटक प्रयोगकर्ताको सङ्ख्या १७ करोड छ । आलोचकहरूले टिकटक बेइजिङको अधीनमा रहेको र गलत प्रचार फैलाउने माध्यम भएको बताएका छन् ।