images

लुम्बिनीमा सात बिना विभागीय मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं– लुम्बिनी प्रदेशका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ ।

चारै जना मन्त्री नेकपा एमालेबाट मन्त्री बनेका हुन् । यस्तै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ । चौधरी नागरिक उन्मुक्ति पार्टी, बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीकी हुन् ।

यसअघि एमालेबाट चेतनारायण आचार्यले अर्थ मन्त्रालय, माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाइसकेका थिए । यस्तै कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरले भने राजीनामा दिएका छन् । जसपाले दुई वटा मन्त्रालय दिने लिखित सहमति पालना नगरी एउटा मन्त्रालय मात्रै दिएको भन्दै असन्तुष्टि जनाएर अहिरलाई राजीनामा गराएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जोखबहादुर महराले राखेका छन् । लुम्बिनीमा यसअघि नेकपा एमालेका लीला गिरी र नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुँदा १० मन्त्रालय थिए । तर माओवादी केन्द्रका महरा मुख्यमन्त्री भएपछि दलहरूलाई भाग पु¥याउन मन्त्रालय फुटाएर दुई वटा थपिएको हो ।