images
images

मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छः नेता पोखरेल

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा बुझ्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्व। नेता अधिकारी अनेक उतार चढावहरू भए पनि कहिले पनि खण्डित नभएको बताए । उनले शासन सत्तामा रहँदा मात्रै नभई स्व। नेता अधिकारी प्रतिकुल अवस्थामा समेत स्थिर रहनुभएको बताए । उनले कम्युनिस्ट आन्दोलन भित्र देखा पर्ने कुनै पनि अतिवादमा स्व। अधिकारी नरहनु भएको बताए । उनले स्वभाव र विचारमा नरम देखिए पनि देब्रे वा दाहिने विचार र प्रवृत्तिको विरोधमा रहनुभएको बताए । उनले अहिलेको कम्युनिस्ट आन्दोलनमा लागेका विद्यार्थीहरूले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्न आवश्यक रहेकोमा जोड दिए ।

उनले भने, ‘मनमोहन अधिकारीलाई हामीले कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा पनि बुझ्नुपर्दछ । उहाँ अनेक उतार चढावहरू भए तर कहिले पनि खण्डित हुनु भएन । कहिले पनि विश्रृंखलित हुनु भएन । उहाँ कम्युनिस्ट आन्दोलनभित्रको निरन्तरताको पर्यायको रुममा रहनुभएको छ । उहाँ शासन सत्तामा रहँदा मात्रै होइन, अत्यन्त प्रतिकुल अवस्थामा समेत पनि रहनुभयो । त्यस कारणले हामी मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको अर्को नामका रूपमा लिने गर्दछौँ । कम्युनिस्ट आन्दोलन भित्र देखा पर्ने कुनै पनि अतिवादमा उहाँ रहनुभएन । उहाँ यो स्वभावमा नरम देखिए पनि, विचारमा नरम देखिए पनि, देब्रे वा दाहिने विचार र प्रवृत्तिको विरोधमा रहनु भयो । उहाँ कहिले पनि त्यो व्यवहारप्रति सहमति हुनुभएन । अहिलेको कम्युनिस्ट आन्दोलनमा लागेका विद्यार्थीहरूले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्नुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले स्व। मनमोहन अधिकारी भूराजनीतिक संवेदनशीलताप्रति गम्भीर रहेको बताए ।