images

सरकारको अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै होः प्रधानमन्त्री दाहाल

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखिएका छन् । ओलीकै कथनलाई सहमति जनाउँदै प्रधानमन्त्री प्रचण्डले सरकारको लक्ष्य सुखी नेपाली र समृद्ध नेपाल नै भएको बताए । ।

बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उनले सरकारको अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै रहेकाले कोही पनि यसमा दुबिधामा रहनु नहुनेमा जोड दिए । उहाँले सुखी नेपाली र समृद्ध नेपालमा पुग्नका लागि सुशासन र सामाजिक न्याय अनिवार्य सर्त रहेको बताए । उनले भने, ‘यहाँ हामी के कुरामा दुबिधामा रहनु हुँदैन भने हाम्रो अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो । त्यसमा विमति हुनुपर्ने कारण छैन । तर सुखी नेपाली र समृद्ध नेपालमा पुग्नका लागि सुशासन र सामाजिक न्याय अनिवार्य सर्त हो, त्यो प्रक्रियाबाट पुगिन्छ भन्न मात्रै खोजिएको हो । अहिलेको हाम्रो आवश्यकता भनेको उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सबै प्रयासहरू केन्द्रित गर्दै सुशासनमार्फत सामाजिक न्याय र समृद्धि हासिल गर्नु हो ।’

उनले सामाजिक न्यायसहितको समृद्धिमा समाजवादी विशेषता अन्तर निहित रहेकोमा जोड दिँदै राजनीतिक दलहरूको बीचमा कतै विमति हुनुपर्ने कारण नभएको प्रस्ट पारे । उनले अहिलेको देशको आवश्यकता उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सबै प्रयासहरू केन्द्रित गर्दै सुशासनमार्फत सामाजिक न्याय र समृद्धि हासिल गर्नु रहेको बताए । उनले सामाजिक न्यायसहितको समृद्धिमा समाजवादी विशेषता अन्तर निहित रहेको बताए ।

प्रधानमन्त्री दाहालले नेपाल लगानीको सम्भावना भएको देश मात्रै नभई भरपर्दो गन्तव्य भएको उल्लेख गरे । उनले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिमा रोजगारी सिर्जनाको प्रचुर सम्भावना रहेको बताए ।उनले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको बिस्तार तथा उपयोगमा विशेष जोड दिएको समेत दाबी गरे ।