images

उपनिर्वाचनमा प्रहरीले एक हजार २४ जना जनशक्ति खटाउने

काठमाडौं– इलाम र बझाङमा शनिवार हुन लागेको उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको छ ।

मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन वर्गीकरण गरेर सुरक्षा व्यवस्थापन मिलाइएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बताए । इलाम–२ मा प्रतिनिधिसभा र बझाङ–१ मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन लागेको हो । प्रहरी प्रवक्ता ढकालका अनुसार, इलाममा ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अति संवेदनशील छन् ।

त्यसमा संवेदनशीलता अनुसार ती केन्द्रमा १ हजार ३६३ जनशक्ति परिचालन गरिने ढकालले बताए । बझाङमा ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अति संवेदनशील छन्, त्यहाँ १ हजार २४ जनशक्ति परिचालित हुनेछन् ।

मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्व सूचना प्राप्त भए वा विभिन्न दलबिच आपसमा झगडा तथा कुटपिट भई मतपेटिका वा मतपत्र बिग्रिने अवस्था भए प्रहरीले बल प्रयोग गर्नेछ ।