images

सत्ता गठबन्धन भत्किने खतरामा ! 

काठमाडौं– वर्तमान सत्ता गठबन्धनको भविष्यको बारेमा विभिन्न कोणबाट प्रश्न उठिरहेका छन् । नयाँ र पुराना दलहरूको बन्धनबाट निर्माण भएको सत्ता गठबन्धनभित्र नै असन्तुष्टिको चाङ छन् । त्यसको मुख्य रूपमा देखा परेको छ नेकपा एकीकृत समाजवादी पार्टी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नपाएपछि सो पार्टीले विद्रोहको रूप लिएपछि त्यसले नै गठबन्धनभित्र दरार पैदा गरेको थियो । अन्तिम अवस्थामा प्रदेशको नेतृत्व समाजवादीले नै पाएपछि गठबन्धन फुटबाट जोगिएको थियो । अहिले फेरि गठबन्धनभित्र सहकार्य लामो नजानेमा थुप्रै आशङ्काहरू पैदा भइरहेका छन् ।

नेपालको राजनीतिमा गठबन्धन बन्नु र भत्किनु सामान्यजस्तै भइसकेको छ । सत्ता र शक्तिको तीव्र आकाङ्क्षा र लालसा नै यसको प्रमुख कारण बनेको छ । जनताको अवस्था जहिले पनि उस्तै रहने तर राजनीतिक दलहरूले जनतामाथि शासनका नाममा सत्ताको राजनीति गरिरहने प्रक्रिया निरन्तर चलिनै रहेको छ । यसमा विशेष गरी सत्ताबाहिर रहेका शक्तिहरूको चलखेल बढी हुने गरेको पाइन्छ । सत्तामा भएका केही दलहरूको असन्तुष्टिलाई सत्ताबाहिर रहेका दलहरूले हतियारका रूपमा प्रयोग गर्ने, वैकल्पिक गठबन्धनको रणनीति अघि बढाउने अनि सरकारको नेतृत्वमा पुग्ने । अहिलेको राजनीतिक अवस्था यही हो । नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरूको अहिले सत्ता गठबन्धन छ । यो गठबन्धनको भविष्यको बारेमा विभिन्न कोणबाट टीकाटिप्पणीहरू भइरहेका छन् । हुन त यसको औचित्यका विषयमा गठबन्धन बन्ने बेलामै यसका खालको बहस नभएको होइन । अहिले त्यसको सान्दर्भिकता र आवश्यकताको बहस पेचिलो बनेको छ ।

यसमा दुई कारण अलि बढी सतहमा आएका छन् । पहिलो सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानको प्रक्रिया अघि नबढाउनु । दोस्रो नेकपा एकीकृत समाजवादीको असन्तुष्टि । सुदूरपश्चिम प्रदेशको नेतृत्व नपाउने भएपछि समाजवादीले गठबन्धनभित्र विद्रोहको रूप लिएको थियो । त्यो विवाद अहिले सामान्य भएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयन गर्न नसकेको भन्दै सो पार्टी अझैँ असन्तुष्ट नै छ । त्यसमा पनि गठबन्धन भत्काउन अनेकन् अस्त्र प्रहार गरेको कांग्रेस सत्ता प्राप्तिका लागि सङ्घर्ष गरिरहेको छ । गठबन्धनमा दरार पैदा भएपछि सम्भावित समीकरणबारे छलफल चलिरहेको छ । यस्तो अवस्थामा गठबन्धनको आयु धेरै लामो जाने देखिँदैन ।

त्यसो त, यस्ता गतिविधि मुलुकका लागि घातक बन्दै गएका छन् । पटक पटक बन्ने गठबन्धन र समीकरणले मुलुकको विकासमा असर गरेको छ । यसका साथै, अस्थिर राजनीतिले जनतामा निराशासमेत छाएको छ । गठबन्धन र समीकरणहरू जनताका लागि नभई केवल सत्ताका लागि मात्र बन्ने गरेका छन् । पुराना गठबन्धन भत्केर नयाँ गठबन्धन बने पनि जनतालाई त्यसले खासै फरक पार्ने छैन ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी नयाँ समीकरणको तयारीमा जुटेको देखिन्छ । त्यो छनक सुदूरपश्चिम प्रदेशबाटै देखिएको थियो । केन्द्रमा पनि सोहीअनुसार गृहकार्य अघि बढेको गठबन्धनमा आशङ्का छ । समाजवादीले सरकार छोड्ने बित्तिकै यो सरकार अल्पमतमा पर्छ । त्यसपछि कांग्रेसलाई गठबन्धन बनाउन मार्ग प्रशस्त हुने विश्लेषण हुँदै छ ।