images

वर्षौं देखि बन्द रहेको पशुपति शिक्षा मन्दिर पुनः सञ्चालनमा

नवलपरासी– वर्षौं देखि बन्द रहेको पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एक विद्यालय पुनः सञ्चालनमा आएको छ। पाल्हीनन्दन गाउँपालिका वार्ड नं ३ परसिया पर्ने पशुपति शिक्षा मन्दिर पुनः सञ्चालनमा आएको हो।

शनिवार विद्यालयको प्राङ्गणमा पूजा तथा हवन कार्यक्रम गर्दै कक्षाको शुभारम्भ गरिएको हो। पशुपति शिक्षा मन्दिरको तदर्थ व्यवस्थापन समितिका कोषाध्यक्ष गुड्डु गुप्ताको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजू प्रसाद गुप्ता (दीपक) को प्रमुख आथित्यतामा पुनः कक्षा आरम्भ गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले शिक्षा विकासको मेरुदण्ड भएकोले यसमा लगानी गर्न आवश्यक रहेको बताए । उनले विद्यालयको लागि चाहिने अत्यावश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गाउँपालिकाले गर्ने प्रतिबद्धता जनाए । करिब २५ वर्ष पहिला वि.स. २०५५/५६ मा स्थापना भएको पशुपति शिक्षा मन्दिर विगत ८/९ वर्ष देखि बन्द रहेको थियो।

सुरुवातको समयमा कक्षा ५ सम्म अनुमति भए तापनि कक्षा ३ सम्म सञ्चालन रहेको विद्यालय हाल कक्षा १ सम्म सञ्चालन गरिने तथा हाल भर्ना भएका २० विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको पशुपति शिक्षा मन्दिरको तदर्थ व्यवस्थापन समितिका कोषाध्यक्ष गुड्डु गुप्ताले जानकारी दिए । उनले  हाल हिन्दु स्वयंसेवक सङ्घको विशेष पहल र जनशक्ति व्यवस्थापनमा सञ्चालन गरिने तथा पछि गाउँपालिकाले दायित्व लिने बताए।

शुभारम्भ कार्यक्रममा विशिष्ट अतिथिको रूपमा पशुपति शिक्षा प्रचारप्रसार समितिका केन्द्रीय गुठियार सत्यदेव पाण्डेय, अतिथिको रूपमा गोपाल गिरी,राम प्यारे प्रजापति,हिन्दु स्वयंसेवक सङ्घका कार्यकर्ता,नव आगन्तुक विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो।