images

बझाङ उपनिर्वाचनः कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

काठमाडौं– बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । ६ पालिका रहेको बझाङ प्रदेश –१ मा पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार २ सय ८४ मतले अगाडि रहेका छन् ।

केही बेरअघि आएको अपडेटअनुसार कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ८ हजार ९ सय ७७ मत प्राप्त गरेका छन् । आइतबार मध्यरातसम्म अग्रता कायम गरेका एमालेका दमनबहादुर भण्डारी भने झिनो अन्तरले पछि परेका छन् । उनले ८ हजार ६ सय ९३ मत प्राप्त गरेका छन् ।

यस्तै माओवादीका जनक बुढाले ३ हजार ५ सय ९ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३ सय ९२ मत ल्याएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर सिंहका अनुसार सोमबार दिउँसोसम्म अन्तिम मत परिणाम सार्वजनिक हुन सक्ने अनुमान छ । शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको छ । यहाँ ११ दलका उम्मेदवार थिए ।

बझाङमा दुई वटा पालिकाको मात्रै मतगणना हुन बाँकी रहेको र अन्तिम मत परिणाम आजै घोषणा हुने निर्वाचन आयोगले जनाएको छ ।