images

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आगामी शुक्रवार विश्वासको मत लिने भएका छन् । मङ्गलवार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको संयुक्त बैठकले मुख्यमन्त्री सोडारीले (शुक्रवार) २१ गते विश्वासको मत लिने सहमति गरेको हो ।

सहमतिअनुसार नाउपाकाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनेछ । नाउपा प्रदेश सभा सदस्य टीका थापालाई मङ्गलवार नै मन्त्रीमा नियुक्त गरेर शपथ ग्रहण गराउने समझदारी गरेको हो ।

आजको बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा।ताराप्रसाद जोशीको सहभागिता रहेको थियो ।

एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका सोडारीले अरू मन्त्रालय आफैँसँग राखेका छन् ।

एमाले र माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी हुन सोडारीले आग्रह गरेका छन् । तर, उनीहरू दुवै दलले विश्वासको मत पछि मात्र सरकारमा सहभागी हुने जवाफ फर्काएको स्रोतको भनाइ छ ।