images

समितिमा रहेका विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन

काठमाडौं– सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गरेर संसद्मा ल्याउन निर्देशन दिएका छन् ।

मङ्गलवार संसदीय समितिका सभापतिहरू र राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकहरूसँगको बैठकमा बोल्दै सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरूलाई पारित गरेर संसद्मा ल्याउन निर्देशन दिएका हुन् । उनले समितिमा छलफलको क्रममा रहेका विधेयकहरूलाई संसद्को आगामी अधिवेशन आह्वान हुनुभन्दा अगाडी नै बैठक बसी टुङ्ग्याउन निर्देशन दिए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले बैठकमा समितिमा भएका विधेयकहरूको अवस्थाको बारेमा जानकारी लिएको बताए । उनले आगामी अधिवेशनमा संसद्मा आउने अवस्थामा के कति विधेयकहरू छन् भन्ने सन्दर्भमा जानकारी लिएको र आगामी अधिवेशनमा विधेयक ल्याउने गरी तयारीस्वरुप बैठक राखिएको बताए । सभामुख घिमिरेले आवश्यक पर्दा आगामी अधिवेशनलाई सहज रूपमा अगाडी बढाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने पनि बताए ।

उनले भने – ‘यो बैठकले समितिमा गएका विधेयकहरू छलफल कसरी भइरहेको छ रु समितिका बैठकहरू कसरी चलिरहेका छन् रु र समितिबाट विधेयक पारित भएर प्रतिवेदनको रूपबाट आउने तयारी कहाँ पुगेको छ रु ताकि अब आउने अधिवेशनमा हाम्रो विधेयकहरू पेस हुनसक्ने कुराको स्थिति कहाँ पुग्यो भन्ने कुराको जानकारी राख्ने, त्यसमा केही समस्याहरू छन्, समस्याको निराकरण खोज्ने, समस्या छैनन् तिनलाई बुझ्ने र आउँदो अधिवेशनको तयारी गर्ने सन्दर्भमा आयोजित बैठक थियो । स्थितिको जानकारी प्राप्त भयो । विधेयकहरू अझै पनि कतिपय छलफल भएर टुङ्गिएका छैनन् । तिनीहरूलाई अधिवेशन आह्वान हुनुभन्दा अगाडी नै छिटो समितिका बैठकहरू बस्ने । बनेका उपसमितिका बैठकहरूले पनि समितिलाई प्रतिवेदनहरू दिने र यसलाई छिटो टुङ्ग्याउने काममा गति दिने कुरामा छलफल र एउटा भावनात्मक वा निर्णय, निष्कर्षमा पुगेर बैठक सकिएको छ । आज पनि मैले के आव्हान गरेको छु भने हाम्रो तयारी गरौँ । अधिवेशनमा आउने अप्ठ्याराहरूलाई हल गर्नका लागि सबैले भूमिका निर्वाह गरौँ । ताकि तयारीका साथ अगाडी जान सकोस् भन्ने कुरा हो । यो पनि एउटा पहल हो । आवश्यक परेमा शीर्ष तहमा छलफल संयुक्त, अलग–अलग रूपमा गर्छु ।’

उनले आगामी बजेटमा संसदीय समितिहरूलाई पनि पर्याप्त बजेट विनियोजन गर्न ध्यानाकर्षण गराइएको पनि बताउनु भयो । उहाँले समिति बैठकमा सांसदहरूको अनिवार्य उपस्थितिका लागि दलका सचेतकहरूलाई पनि आग्रह गरिएको बताए ।