images

प्रचण्ड सत्ताका लागि जे गर्न पनि तयार हुन्छनः डा. बाबुराम भट्टराई

काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन् ।

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंको शान्ति वाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । अध्यक्ष भट्टराईले कहिले काँग्रेस र एमालेसँग आलोपालो पछि लागेर प्रधानमन्त्री दाहालले सत्ताका लागि मरिहत्ते गरेको बताए । उनले माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिहरूलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान सुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि प्रधानमन्त्री दाहालको सत्ता मोहका कारण त्यसलाई अघि बढाउन नसकिने जिकिर गरे । भट्टराईले दाहालको सत्ता मोहले वाक्क भएकाहरूलाई पनि समाजवादी धारमा अघि बढाउन आफूले निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि सोही पार्टीमा एकीकरण भएर जाने निर्णय भने नगरेको बताए ।

उनले भने,‘माओवादी आन्दोलनमा जोडिएका साथीहरूको एउटा ठुलो समूह थियो । ती साथीहरू पनि बडो दुबिधामा थिए । कहिले एमालेको पछि लागेको छ, कहिले काँग्रेसको पछि लागेको छ । प्रचण्ड जीले उहाँहरूलाई आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाई राख्नुभएको छ । त्यस्तो भएको बेलामा माओवादी आन्दोलनमा लागेकाहरूलाई समाजवादतर्फ लैजानका लागि आफूले चुनावमा सहकार्य गरेर जाने नीति लिएको हो । प्रचण्ड जीलाई मेरो विश्वास थिएन । उहाँ त सत्ताको निम्ति जे पनि गर्नुहुन्छ । तपाई कुर्सीमा बस्ने हो भनिदिएपछि जता पनि बसिदिनु हुन्छ । त्यो मलाई थाहा थियो । तर माओवादी आन्दोलन भित्रका साथीहरू अब हामी नयाँ ढङ्गले जान्छौँ । माओवादी युगको, माओवादी विचारको समय सिद्धियो । त्यसले आफ्नो काम सम्पन्न ग¥यो । अब नयाँ ढङ्गले रूपान्तरणसहितको नयाँ समाजवादी धुव्रीकरणको जुन कुरा गर्नुभएको छ । हामी त्यसमा आउँछौँ भनेको हुनाले एउटा साझा चुनाव चिन्ह लिएर अहिले जाऊ, दुई पार्टी अलग अलग भए पनि हुन्छ । त्यहाँ पार्टी एकता कहीँ पनि भनिएको थिएन । माओवादीमा जाने कहीँ पनि भनिएको थिएन । तर पछि तपाईँले सबै देखिहाल्नु भयो । जब निर्वाचन भयो । खोलो त¥यो, लौरो बिर्स्यो । प्रचण्ड जी चुनाव जितिसकेपछि त उहाँ फेरि पानीको भिजेको बिरालो जस्तो भएको मान्छे चुनाव जितिसके पछि त शेरजस्तो भएर गर्जन थाल्नुभयो । अनि देखिहाल्नु भयो, फेरि उही कुरा दोहो¥याउनु थाल्नु भयो ।’

अध्यक्ष भट्टराईले दाहालले निर्वाचन अघि पानीमा भिजेको बिरालो जस्तो भएर गोरखामा चुनाव लड्नका लागि आफूसँग अनुनय विनय गरे पनि जितेपछि शेरजस्तो भएर गर्जिन थालेको भन्दै आक्रोश पनि व्यक्त गरे ।