images

आगलागीमा परी धादिङमा एक दम्पतीको मृत्यु

काठमाडौं– आगलागीमा परी धादिङको थाक्रे गाउँपालिका–५, गैरीखर्कका एक दम्पतिको मृत्यु भएको छ ।

गएराति घरमा आगो लाग्दा घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति साढे ११ बजे स्थानीयले आगलागीबारे प्रहरीलाई खबर गरेको थियो । नजिकको हाप्सेचौर अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली घटनास्थल पुग्दा घर पूरै जलिरहेको प्रहरीको भनाई रहेको छ ।

‘दमकल जाने स्थिति पनि नभएको र राति साढे १२ बजे मात्रै आगो निभेपछि भित्र हेर्दा दुई जना जलेर मृत्यु भएको अवस्थामा भेटिएका थिए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।