images

सन्दीपले क–कसको नाम सार्वजनिक गर्दै छन् ?

काठमाडौं– अर्को महिना अमेरिका र वेष्टइण्डिजमा हुने आइसिसी टी–२० विश्वकप खेल्ने १५ सदस्यीय टोली घोषणा भएको छ । कप्तान रोहित पौडेलको कप्तानीमा विश्वकप खेल्ने टोलीको घोषणापछि सामाजिक सञ्जाल फेसबुकमा यो विषयले निकै चर्चा पाएको छ । स्पिनर सागर ढकाल, तीव्र गतिका बलर कमलसिंह ऐरी र विकेटकिपर अनिलकुमार साह अन्तिम १५ मा स्थान बनाउन सफल भए । सन् २०१४ पछि विश्वकप खेल्न लागेको नेपालले ब्याटिङ र बलिङ दुबैमा ध्यान दिएको छ । नेपालको टोलीमा पाँच प्रमुख ब्याटर कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहित पौडेल र सन्दीप जोरा छन् ।

तीन प्रमुख अलराउन्डरमा कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुलशन झा छन् । दुई बलिङ अलराउण्डरमा करण केसी र सोमपाल कामी तथा पाँच बलरमा कमलसिंह ऐरी, सागर ढकाल, ललित राजवंशी, प्रतिश जिसी र अभिनाश बोहरा छन् ।

विश्वकप खेल्ने १५ सदस्यीय नेपाली टोली

रोहित पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ।

नेपालको खेल तालिका

४ जुनः नेपालविरुद्ध नेदरल्यान्ड्स
१२ जुनः नेपालविरुद्ध श्रीलङ्का
१५ जुनः नेपालविरुद्ध दक्षिण अफ्रिका
१७ जुनः नेपालविरुद्ध बङ्गलादेश

विश्वकपमा समूह विभाजन

समूह एः क्यानडा, भारत, आयरल्यान्ड, पाकिस्तान र अमेरिका
समूह बीः अस्ट्रेलिया, इंग्लयाण्ड, नामिबिया, ओमान, स्कटल्यान्ड
समूह सीः अफगानिस्तान, न्युजिल्याण्ड, पपुवा न्युगिनी, युगान्डा र वेष्टइण्डिज
समूह डीः नेपाल, बङ्गलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलङ्का ।

नेपालले विश्वकप खेल्ने टोलीको घोषणा गरेकै दिन निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो पीडा व्यक्त गरिरहेका छन् । उनले बुधवार लगातार तीन वटा स्ट्याटस लेख्दै आफूमाथि भएको षड्यन्त्रको पर्दाफास गर्ने चेतावनी दिएका छन् । नेपाली क्रिकेटलाई यो उचाइमा पु¥याउन लामिछानेको निकै ठूलो भूमिका छ । उनले विश्वमा समेत नेपालको नाम चिनाउन भूमिका निर्वाह गर्दै आएका थिए । विश्वकप क्रिकेटमा नेपाली टोलीमा लामिछानेलाई देख्न पाइने छैन । अदालतमा उनी विरुद्ध मुद्दा चलिरहेका कारण उनी टोलीमा पर्ने सम्भावना निकै न्यून थियो । उनी विरुद्धको मुद्दा केही समययता निकै लम्बिएको छ । समय समयमा राखिने पेशीले मुद्दाको सुनुवाइ गर्न नसक्दा लामिछानेले विश्वकप क्रिकेट गुमाउने भएका छन् ।

बुधवार लामिछानेले तारान्तार आफ्नो फेसबुक पेजमा अदालत, मुद्दा र क्रिकेट टोलीको घोषणाबारे स्ट्याटस लेखे । पहिलो स्ट्याटसमा उनले इमोजी मात्र पोस्ट गरे । त्यस लगत्तै उनले दोस्रो स्ट्याटस सार्वजनिक गरे । सो स्ट्याटसमा उनले आफू षड्यन्त्रको सिकार भएको बताएका थिए । उनले भनेका छन्–

‘मैले लामो समय पोस्ट गर्नबाट आफूलाई टाढा राखेँ । म षड्यन्त्रको सिकार भएकोमा मलाई कुनै शङ्का छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्य तथ्य बाहिर नआएसम्म समयले बताउनेछ ।’

त्यसपछि फेरि उनले अर्को आक्रामक स्ट्याटस लेखे । जसमा उनले अदालतको सम्मान गर्ने तर यस षडयन्त्रमा आफ्नो भूमिका खेल्ने सबैको नाम सार्वजनिक गर्ने प्रतिज्ञा गरेका छन् । उनले भनेका छन्–

‘म सम्बन्धित अदालतको कानुन र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन् ।’

त्यसो त लामिछाने विश्वकप क्रिकेटमा सहभागी नहुनु नेपालका लागि घाटा नै हुनेछ । लामिछानेको अभावमा नेपाली टोलीले कस्तो प्रदर्शन गर्छ त्यो हेर्न बाँकी छ । तर, लामिछानेको अनुपस्थितिमा टोलीले राम्रो प्रदर्शन गर्न नसकेको भनेर आलोचना भइरहेको छ । सँगसँगै नेपाली क्रिकेट लामिछानेको अभावका कारण मनोवैज्ञानिक दबाबमा रहेको देखिन्छ ।