images

सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी

काठमाडौं–सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी परेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका सचिव उदयराज सापकोटाले यसबारेमा जानकारी गराएका हुन् । उनका अनुसार एउटै घटनाको उजुरीहरू धेरै छन् । एउटा घटनाको एक हजार, १० हजार, १५ हजार पनि उजुरीहरू पनि हुनसक्ने भन्दै उनले उजुरी भन्दा पनि घटनाका विषयहरूलाई हेरेर जानुपर्नेमा जोड दिए ।

जिल्लाको तहमा हेर्दा सल्यानमा ५ हजार ५०२ वटा उजुरी परेको छ । त्यस्तै अछाम र कपिलवस्तुमा ४ हजार भन्दा बढी उजुरी परेको र ३ हजार भन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजार भन्दा माथि उजुरी भएका एउटा जिल्ला रहेको उनको भनाइ छ। एक हजार माथि उजुरी भएका जिल्ला १३ वटा रहेका छन् । उनले अहिले २ हजार २६८ उजुरीहरू तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाउँ भनेर निवेदन आएको अवस्था रहेको पनि बताए ।

सचिव सापकोटाले घटना किन भयो र त्यो घटना हुनुको पछिको तात्पर्य के हो भनेर हेर्न उजुरीहरूको निरूपण हुन जरुरी रहेको पनि बताए ।