images

गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छः कांग्रेस नेता लेखक

कञ्चनपुर-नेपाली कांग्रेस नेता एव संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री एकपछि अर्को सहकारी काण्डमा मुछिएको आरोप लगाएका छन् ।

सोमबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता लेखकले गृहमन्त्री रवि लामिछाने एकपछि अर्को सहकारी घोटाला काण्डमा मुछिएको आरोप लगाएका हुन ।

नेता समेत रहेका लेखकले सहकारी घोटाला काण्डमा मुछिएका गृहमन्त्रीमाथि संसदीय टोली गठन गरेर छानबिन गर्नुपर्ने माग दोहोर्‍याए ।लेखकले देश भरी सहकारीको अबौँ जनताको रकम अपचलनमा गृहमन्त्री लामिछानेको नाम मुछिँदा समेत सरकारले उनीमाथि छानबिन नगरेको आरोप लगाए । ‘कांग्रेस संसदीय दलले संसदमा समेत सहकारी ठगी प्रकरण छानबिन गरेर दोषी उपर कारबाहीमा माग अघि सार्दै आएको छ, ‘लेखकले भने, ‘तर सरकारले सहकारी ठगीमाथि छानबिन गर्न आलटाल गरिरहेको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले समग्र सहकारी ठगी काण्ड छानबिन गर्ने बताएको विषय सकारात्मक भएको तर, रास्वपा सभापति एव गृहमन्त्री रवि लामिछानेलाई बचाएर अरूतिर मात्रै छानबिन गर्ने काम भए कांग्रेसलाई यो कुरा स्वीकार हुँदैन,उनले भने ।’

छानबिन गर्ने निकायकै प्रमुख व्यक्तिमाथि आरोप लाग्दा समेत उनले नैतिकताका आधारमा ठाउँ खाली छाड्नुपर्ने बताए । ‘हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ, ‘उनले भने, ‘सहकारी ठगी काण्डमा छानबिन गरेर जो जो दोषी भेटिए उनीहरूमाथि कानुनी कारबाही मात्रै कांग्रेसको माग हो ।’

नेता लेखकले सरकारमा रहेका दलहरूबिचमै खटपट भएको बताउँदै एमालेभित्रै चरम असन्तुष्टि रहेको बताए । एमाले, कांग्रेसको सरकार बन्ने विषयमा ठोस कुराकानी नभएको बताए । मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको बताउँदै उनले समानुपातिक प्रणाली हटाउनेतर्फ लक्षित गरेर संविधान संशोधनको विषय अघि सारेका छन् ।

‘हाम्रो संविधान जारी भएको ८ वर्ष भयो, अब संविधानका राम्रा नराम्रा पक्षको अध्ययन गर्नुपर्छ, ‘उनले भने, ‘नराम्रा विषय संशोधन गरेर अघि बढ्नुपर्छ ।’ कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट प्रतिनिधि सभा सदस्य निर्वाचित संसद् लेखकले जिल्लाको विकास निर्माण संवृद्धि एव त्रिदेशीय नाका बनाउने विषयमा कुनै राजनीति गर्न नहुने बताए ।