images

हत्या अभियोग लागेकी पञ्चा सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय

काठमाडौं–सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नलाउने निर्णय भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतले सिंहसहित ५ जनाविरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । निर्णयअनुसार सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टङ्कबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक भन्ने अलि कार्कीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो ।

२६ फागुन २०६५ कालिकोटका राजबहादुर मल्ललाई खुकुरी प्रहार गरी बीभत्स हत्या भएको थियो । यो प्रकरणमा १५ वर्षपछि अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले पक्राउ पुर्जी जारी गरेको थियो ।

तर अनुसन्धानको क्रममा बुझिएको प्रमाणका आधारमा मुद्दा चलाउनुपर्ने आधारहरू नदेखिएकाले भन्दै उनीहरू विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको सहायक जिल्ला न्यायाधिवक्ता प्रेम भण्डारीले बताए । राजबहादुर सुर्खेतमा हत्या भएको थियो । जन उच्च माविमा पढ्नका लागि गाउँमा आफूसँगै ६–७ कक्षा पढेर माओवादी बनेकाहरू एकाएक भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर उच्च शिक्षाका लागि भर्ना भएको भन्दै आएपछि राजबहादुरले त्यसको विरोध गरेका थिए । सोही विषयलाई लिएर राजबहादुरको हत्या भएको आफन्तहरूको आरोप रहेको छ ।