images

ओली–दाहालकै कारण फुट्यो जसपा, वैकल्पिक गठबन्धनको सपना समाप्त !

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि राजनीतिमा अर्को बहस चुलिएको छ । आन्तरिक विवादका कारण जसपा विभाजित भएको बुझ्न कठिन छैन । तथापि यसका पछि केही कारणहरू भने विद्यमान छन् ।

नेपाली कांग्रेससहित नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी मिलेर वैकल्पिक गठबन्धन बनाउने योजनालाई विफल गराउन चालिएको अस्त्र अहिले प्रकट भएको छ । यो गठबन्धन बनाउन कांग्रेससहितका दलहरू गृहकार्यमा जुटेका थिए । तर, त्यो गृहकार्यको सुइँको पाएपछि सत्ता गठबन्धनका नेताहरूले जसपालाई फुटको डिलमा पुर्‍याइदिएको भन्दै आलोचना भएको छ ।

साना दलहरूलाई आपसमा बटुलेर सत्ताको कुर्सीमा बहाल भइरहने ठुला दलहरूको चरित्र नै हो । बहुमत कायम गर्न साना दलहरूको सहारा लिने तर एक बिन्दुमा पुगेपछि ती दलहरूमा आपसी टकराब उत्पन्न गराउने राजनीतिक नेतृत्वको शैली हाबी भएको छ । त्यसकै बलियो उदाहरण उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल हो । अहिले सो पार्टी दुई भागमा विभाजित भएको छ । अध्यक्ष यादव विदेश भ्रमणमा रहेकै बेला पार्टी विभाजन हुनु रहस्यमय नै छ ।

जसपा फुटे पनि साना दलका लागि यो पहिलो शृङ्खला भने होइन । यसअघि पनि नागरिक उन्मुक्ति पार्टीमा पनि सोही समस्या आएको थियो । आवरणमा घरपरिवारको कलहका कारण पार्टी समस्यामा आएको देखिए पनि कारण भने सत्ता स्वार्थ नै थियो ।

नेतृत्वले सत्ता जोगाउन अनेकन् अस्त्र प्रहार गर्दा सो पार्टी फुटको डिलमा पुगेको थियो । अन्तिम समयमा भने त्यो हुन सकेन । त्यही समस्या माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा समेत देखिएको छ । सरकारमा रहने र सरकारबाट बाहिरिनुपर्ने दुई थरी पक्ष बन्दा पार्टी विभाजनको डिलमा पुगेको विश्लेषण गरिँदै छ ।

कांग्रेस, जसपा र एकीकृत समाजवादीले वैकल्पिक गठबन्धन बनाउने गोप्य सूचना पाएपछि सत्तापक्षका नेताहरू यसमा सजग भएका थिए । त्यसमा पनि एमाले माओवादीको गठबन्धन बनेदेखि नै अनेक अस्त्र प्रयोग गरेको कांग्रेसका लागि यो थप आधार थियो ।

समाजवादी र जसपासहित मिलेर बहुमत जुटेपछि वैकल्पिक गठबन्धनको अभ्यास कांग्रेसले नै सुरु गरेको थियो । तर, अब तत्कालका लागि कांग्रेसको वैकल्पिक गठबन्धन बनाउने सपना समाप्त भएको छ । त्यसो त नयाँ सरकार निर्माण भएपछि जसपा सरकारमा जाने विषयमा आन्तरिक विवाद नै थियो । विवादका बाबजुद पनि जसपा प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा सहभागी भएको थियो । अहिले सो विवाद फुटको सँघारमा पुगेपछि छताछुल्ल भएको छ ।

ठुला दलका नेताको सत्तालिप्साले साना दललाई आपसमा विभाजित गर्दै आएको छ । पार्टी नेतृत्वको कमजोरीका कारण विभाजन भएको दाबी गरिए पनि यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल, केपी शर्मा ओली लगायतको मुख्य भूमिका रहेको भन्दै त्यसको आलोचना भइरहेको छ ।