images

माधव नेपालको प्रधानमन्त्री बन्ने सपना चक्नाचुर !

काठमाडौं–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नेतृत्व गर्ने कदम अघि सारेपछि त्यसले गठबन्धनभित्र केही समय हलचल नै पैदा गरेको थियो । गठबन्धनका नेताहरूले सार्वजनिक रूपमै नेपालको यो कदमको खुलेर आलोचना गरेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको बारेमा नेपालले गठबन्धनभित्र विद्रोह नै गरे । उनको विद्रोहले सो प्रदेशमा नेतृत्व पनि पाएको छ । तर, अहिले आफू नै शक्तिशाली व्यक्ति भएको रवाफ देखाउने नेपाल एकाएक कमजोर साबित भएका छन् ।

आफ्नो पार्टीलाई कसैले अवमूल्यन र बेवास्ता गरे त्यसले ठुलो मूल्य चुकाउनुपर्ने भन्दै माधवकुमार नेपाल आक्रामक रूपमा प्रस्तुत हुँदै आएका थिए । उनी आक्रामक हुनुको एउटै कारण थियो, जनता समाजवादी पार्टी नेपाल । सो पार्टी र आफू मिलेर सत्ता समीकरणमा बार्गेनिङ शक्ति बढाउने, त्यो नभए वैकल्पिक गठबन्धनसमेत बनाउने नीतिसहित नेपाल प्रस्तुत हुँदै आएका थिए ।

उनको प्रस्तुतिले केही हदसम्म पार्टीका लागि राम्रै भूमिका पनि खेलेको थियो । सोहीअनुसार प्रदेशको नेतृत्व समाजवादीले नै पायो । प्रदेशको राजनीतिले केन्द्रीय गठबन्धनमा हलचल आउने स्थिति देखिएपछि बाध्य भएर प्रदेशको नेतृत्व समाजवादीलाई सुम्पिनुपरेको थियो ।

जसपा नेपाललाई देखाएर आफू शक्तिशाली बन्ने दाउ हेरेका नेपालको कदममा अहिले धक्का लागेको छ । सो पार्टी विभाजित भएपछि सबैभन्दा धेरै घाटा नेपालको पार्टीलाई भएको छ । केही समय अघि आक्रामक रूपमा प्रस्तुत हुँदै आएका नेपाल अहिले एकाएक शान्त देखिएका छन् ।

नेपालले निरन्तर गठबन्धनभित्र आफू शक्तिशाली हुन अभ्यास गरिरहे । कतिसम्म भने उनले कांग्रेससँग वैकल्पिक गठबन्धन बनाउने कसरत नै गर्दै आएका थिए । सत्तामा आफ्नो बार्गेनिङ शक्ति बढाउन उनले अनेक विकल्पको खोजी गरिरहेका थिए । उनलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको पनि साथ थियो ।

वर्तमान समीकरणमा असन्तुष्टिका बाबजुद पनि यादव सरकारमा सहभागी भएका थिए । आफूभन्दा जुनियरलाई माथिल्लो मन्त्रालयको जिम्मेवारी दिएको यादवलाई मन पर्ने कुरै भएन । त्यसका लागि उनले पनि वैकल्पिक गठबन्धनको कदम चालेको खुल्न थालेको छ । त्यही समर्थन पाएका नेपाल निकै हौसिएका थिए । वर्तमान गठबन्धनभित्र विकल्पको खोजी गर्ने यी दुई नेता अहिले किनारामा पुगेका छन् । उनीहरूले चालेका सबै अस्त्र असफल हुँदा छँदाखाँदाका पद पनि गुम्ने खतरा देखिएको छ ।

अहिले एकीकृत समाजवादीले जसपा फुटाउने कार्य निन्दनीय भएको भन्दै गुनासो गरिरहेको छ । यसका पछाडि निर्णायक रूपमा खटिने व्यक्ति या शक्ति जोकोही भए पनि यो कार्य गलत भएको उसको निष्कर्ष छ ।