images

पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन्ः राष्ट्रपति

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल चार्टड एकाउन्टेन्ट सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लेखा व्यवसायीहरूको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरूमा पारदर्शिता कायम गर्न योगदान पुगेको बताए । उनले कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाब प्रणालीको पारदर्शिता नै रहेको बताए ।

उनले देशको आर्थिक विकास र राजश्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुन्छ । विकास निर्माणको ठुला खर्चमा प्रयोग हुनसक्ने फर्जी बिल र राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव हुने बताए ।

उनले कुनै पनि क्षेत्रमा हुनसक्ने सानादेखि ठुला आर्थिक चुहावट तथा हिनामिना हुनबाट रोक्न यसले मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले सहीलाई सही र गलतलाई गलत भनी स्पष्ट हिसाब हुन नसक्ने हो भने सानादेखि ठुला आर्थिक कारोबारमा भएका गलत गतिविधि नियन्त्रण गर्ने विषय सहज नहुने बताए ।

उनले भने, ‘आफ्नो अर्थनीतिमा आफ्नो लक्ष्यअनुरूप अघि बढ्न सम्मेलनले नेपालको अर्थनीतिमा लेखा व्यवसायीहरूको बेग्लै स्थान कायम गर्ने विश्वास मैले लिएको छु । तपाईँहरूकै सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरूमा पारदर्शिता कायम गर्न योगदान पुगेको हो । सम्बन्धित निकायलाई पारदर्शी र जवाफ देही बनाउन चार्टड एकाउन्टेन्ट विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भूमिका महत्त्वपूर्ण हुन्छ । वास्तवमा पारदर्शिता र सुशासन एक अर्काका पूरक पनि हुन् । कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाब प्रणालीको पारदर्शिता हो । देशको आर्थिक विकास र राजश्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुन्छ । विकास निर्माणको ठुला खर्चमा प्रयोग हुनसक्ने फर्जी बिल र राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव हुन्छ । कुनै पनि क्षेत्रमा हुनसक्ने सानादेखि ठुला आर्थिक चुहावट तथा हिनामिना हुनबाट रोक्न यसले मद्दत गर्छ । यदि सहीलाई सही र गलतलाई गलत भनी स्पष्ट हिसाब हुन नसक्ने हो भने सानादेखि ठुला आर्थिक कारोबारमा भएका गलत गतिविधि नियन्त्रण गर्ने विषय सहज हुने थिएन । मुलुकभर सक्रिय लेखा परीक्षणकै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोको रूपमा पनि लिन सकेका छौं । हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु र गराउनु नै लेखा परीक्षणको धर्म हो । आफ्नो कर्ममा धर्म नबिर्सिनु नै न्याय हो । तसर्थ न्यायोचित ढङ्गबाट कर्म सम्पादन गरिरहनुभएका लेखा परीक्षकहरू राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ ।’

उनले हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु र गराउनु नै लेखा परीक्षणको धर्म रहेको र आफ्नो कर्ममा धर्म नबिर्सिनु नै न्याय भएकाले न्यायोचित ढङ्गबाट कर्म सम्पादन गरिरहनुभएका लेखा परीक्षकहरू राष्ट्रका आर्थिक पहरेदार भएको बताए ।