images

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

काठमाडौं–कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार संविधानको १६८ (५) अन्तर्गत मुख्यमन्त्री नियुक्त गरेका हुन् । योसहित कार्कीको प्रदेश सरकारमा तेस्रो इन्ट्रि भएको छ । कार्कीलाई समर्थन गरेका एमाले र माओवादी केन्द्रका ५२ जना प्रदेशसभा सांसदको शरीर उपस्थितिमा हस्ताक्षर गरेपछि प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्कीले ५२ जनाको समर्थन रहेको भन्दै बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ । हिक्मतकुमार कार्कीको पक्षमा ५२ मत देखिएको छ । यसअघि उनी संविधानको धारा १६८ ९२० अन्तर्गत २०७९ पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की २०७९ असार १५ गते विश्वासको पाउन नसकेपछि पदमुक्त भएका थिए ।

पदमुक्त भएका कार्कीले ७० दिनपछि अदालतको परमादेशबाट कम ब्याक गरेका थिए । संविधानको धारा १६८ (३) अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत लिन नसक्ने अवस्था आएपछि असोज २२ गते राजीनामा दिएका थिए । गत मङ्सिरमा चुनाव भएयता कोशीमा योसहित ६ पटक सरकार हेरफेर भएको छ । यसअघि २ पटक कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन् । कांग्रेसकै केदार कार्की १६८ (५) अन्तर्गत असोज २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए । नवनियुक्त मुख्यमन्त्री कार्कीलाई बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ ।

सरकार गठन आह्वानविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की भने सर्वोच्च अदालत पुगेका छन् । उनले प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको दाबी गरेका छन् । कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । पछि माओवादीले पनि उनलाई विश्वासको मत दिएको थियो । तर गत फागुन २१ गते केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि प्रदेशमा पनि त्यसै अनुकूलका समीकरण बन्न थालेका हुन् । २०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए ।