
काठमाडौं–सङ्घीय संसद्अन्तर्गत आजबाट बजेट अधिवेशन सुरु हुँदै छ । आज दिउँसो २ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ ।
त्यसै गरि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेकाे छ भने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०” पेस गर्ने भएका छन् ।
त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउनुहुने, अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुने, अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउनुहुने, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।