images

कांग्रेसको विरोधपछि संसद् बैठक स्थगित

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै कांग्रेस सांसदहरू नाराबाजी गर्दै विरोधमा उत्रेका थिए ।

गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले सदन सुचारु हुने बित्तिकै विरोध जनाएको थियो । कांग्रेसको विरोध सहित नाराबाजीका साथ बेल घेराउ गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक करिब दुई घण्टापछि पुनः बसेको थियो ।

सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई आफू माथि लागेको आरोपबारे उत्तर जवाफ दिनका लागि बोलाएपछि कांग्रेस सांसदहरूले बेल घेराउ गर्दै रोष्टममा जान अवरोध गरेका थिए ।

कांग्रेसको अवरोधपछि सभामुखले आजको कार्यक्रममा रहेको कार्यसूची हटाउँदै जेठ १ गते साँझ बजे बस्ने गरी स्थगित गरेको घोषणा गरेका हुन् ।