images

अब कांग्रेसका बकवास सुनिरहन हामी तयार छैनाैंः ओली

काठमाडौं–सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धु टी-स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका छन् ।

सरकारमा रहँदा ओलीले टी-स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप कांग्रेसले लगाइरहेका बेला उनले सो आरोप लगाउनुभएको भएको हो । बुधवार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले १९ बिगाहा र ५१ बिगाहा टी स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानबिन गर्नुपर्ने माग समेत गरे । उनले कांग्रेसले गरेका बदमासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको पनि बताए । ओलीले तत्काल संसद् बैठक सुचारु गराउन पनि कांग्रेसलाई दबाब दिए । कांग्रेसले गरिमामय संसद् र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद् अवरुद्ध गर्न नहुने ओलीको जिकिर थियो ।

उनले भने, ‘म भन्न चाहन्छु–५१ बिगाहा र १९ बिगाहा गरेर ७० बिगाहा जमिन त्यही गिरीबन्धु टी स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा । यसमा छानबिन हुनुपर्छ । अब हामी नेपाली काँग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन । नेपाली काँग्रेसका गरेका बद्मासीहरुको बारेमा हामी कुरा उठाउँछौं । हामीले सुनिरहनुपर्ने, काँग्रेस कराई रहनुपर्ने हुन्छ ? पार्लियामेन्ट भनेको त्यही हो ? हामी सुनिरहने, काँग्रेस कराई रहने ? यो चल्दैन । अब काँग्रेसका बकवास सुनिरहन हामी तयार छैनौँ । चाहिने कुरा गरे हुन्छ नि त । एउटा प्रसङ्गमा कुरा चल्या छ । त्यो प्रसङ्गमा कुरा गरे हुन्छ । यतै टोक्या छ, उतै टोक्या छ, यता भुकेको छ, उता भुकेको छ । के तरिका हो यो रु र दुनियाँलाई थाहा छ । म धेरै भन्न चाहन्न । नेपाली काँग्रेसले गरिमामय संसद्को यति बहुमूल्य समय, सांसदहरूको बहुमूल्य समय, यो देशको बहुमूल्य समय यस प्रकारले कुण्ठाग्रस्त भएर खेर फाल्न हुँदैन । संसद् सुचारु गराउनु पर्छ । हामी सुचारु गर्ने पक्षमा छौं । कहीँ कतै अभियोजन छ भने अभियोजन चलाउने ठाउँबाट चल्ला । अनि काँग्रेसले नै अभियोजन चलाई हाल्ने रु काँग्रेसले नै फैसला पनि ठोकी हाल्ने ? प्रमाणित भ्रष्टाचारी ल्याएर, काँग्रेसका धेरै मान्छेका जन्म कुण्डली हामीलाई थाहा छ । त्यति भन्छु । ’

अध्यक्ष ओलीले एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न पनि कांग्रेसलाई चेतावनी दिए ।