images

प्रतिनिधि सभाको बैठक चार बजे बस्ने गरी स्थगित

काठमाडौं–प्रतिनिधि सभाको बैठक चार बजे बस्ने गरी स्थगित गरिएको छ । बिहीबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अपराह्न चार बजे बस्ने गरी स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यसै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने,प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ ।
यसका साथै सभामुखले राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्वत २०८१ जेठ १ गते मङ्गलवारका दिन गरेको सम्बोधनको लागि प्रतिनिधि सभाको बैठकको तर्फबाट राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०” पेस गर्नुहुने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्नुहुने, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।