images
images

कांग्रेसले आफूले जे भन्यो त्यही हुनुपर्छ भन्ने सोच बदल्नु पर्छः ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीतिक गतिरोध अन्त्य गर्न नेपाली कांग्रेस गम्भिर हुनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा मङ्गलवार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले राजनीतिक गतिरोध अन्त्य गर्न कांग्रेसले आफूलाई सम्हालेर लोकतान्त्रिक मूल्य मान्यताको अभ्यासलाई आत्मसात् गर्नुपर्ने बताए । उनले लोकतान्त्रिक मूल्य मान्यतालाई बिर्सेर नेपाली कांग्रेसले संसदमा गर्दै आएको गतिविधिले कांग्रेसलाई फाइदा नहुने बताए । कांग्रेसले गरिरहेको सदन अवरोध केवल सत्ताका लागि भएको उनको दाबी थियो । राजनीतिक स्थायित्वका लागि दलहरू एक हुनुपर्ने वेलामा कांग्रेसको यस्तो गतिविधिले प्रतिगामी शक्तिलाई बल पुग्ने उनको भनाई थियो ।

संसद् अवरोधका कारण बजेट पास गर्न समस्या हुनसक्ने सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले सरकारले प्रतिपक्षलाई पेलेर नजाने बताए । यद्यपि विगतमा यस प्रकारका अवरोधकाबिच बजेट पास भएका उदाहरणहरू रहेको दाबी गरे । उनले काँग्रेसको आफूले जे भन्यो त्यही हुनुपर्छ भन्ने सोचका कारण पछिल्लो अवस्था आएको दाबी समेत गरे ।
अध्यक्ष ओलीले नेकपा एमाले मुलुकको समग्र विकासका लागि केन्द्रित रहेको समेत बताए ।