images

जीबी राईको राहदानी रद्द गर्न नमिल्ने विभागको निष्कर्ष

काठमाडौं– सहकारीको रकम अपचलन गरेर फरार भएका जीबी राईको राहदानी रद्द नहुने भएको छ ।

सूर्य दर्शन सहकारीको ठगीमा मुद्दा चलेर फरार रहेका १४ जनामध्ये जीबीविरुद्ध रेड नोटिस जारी भएको छ । तर उनी अहिलेसम्म पक्राउ भने परेका छैनन् । पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय, कास्कीले ३० वैशाखमा राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र पठाएको थियो । तर जीबीको राहदानी रद्द गर्न नमिल्ने देखिएको राहदानी विभागका प्रवक्ता तथा निर्देशक रमेशकुमार चर्मकारले बताएका छन् । अदालतबाट लेखिआएको अवस्थामा बाहेक राहदानी रद्द गर्न नमिल्ने विभागको निष्कर्ष छ ।

नेपालको राहदानी ऐन २०७६ मा राहदानी रोक्का राख्ने र रद्द गर्ने दुवै व्यवस्था छ । ऐनअनुसार अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, आतङ्कवाद लगायतका केही आरोप लागेका व्यक्तिको हकमा अनुसन्धान अधिकारीले राहदानी रोक्का गर्न राहदानी विभागमा पत्राचार गर्न सक्ने व्यवस्था छ ।

त्यसबाहेक अदालतले पनि कुनै मुद्दा परेमा राहदानी रोक्का राख्न आदेश दिन सक्छ । कुनै जायज कारण देखिए सरकारले पनि राहदानी रोक्का राख्न सक्ने ऐनमा व्यवस्था छ । तर राहदानी ऐनमा कुनै पनि कसुर र अपराध गरेका कारण नेपाली नागरिकको राहदानी रद्द हुने परिकल्पना छैन । सूर्य दर्शन सहकारी ठग प्रकरणमा मुद्दा चलेका जीबीसहित १४ जना अझै फरार छन् ।