images
images

कर्तव्य ज्यान मुद्दामा पूर्व सभामुख सापकोटाविरुद्ध असार १२ गते निर्णय सुनाउने

काठमाडौं– पूर्व सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले असार १२ गते निर्णय सुनाउने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटाविरुद्धको रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै तीन सातापछि निर्णय सुनाउने मिति तोकेको हो । काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटामाथि अनुसन्धान हुनुपर्ने माग गरिएको रिटको अन्तिम सुनुवाइ सकिएपछि फैसलाको मिति तोकिएको हो ।

२०६९ मङ्सिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि अनुसन्धान हुनुपर्ने माग गरी सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उक्त रिटमा बारम्बार आदेश भए पनि काभ्रे प्रहरीले अनुसन्धान अघि बढाएको थिएन ।

द्वन्द्वकालीन अवस्थामा माओवादीको एक समूहले २०६२ वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको भेलाबाट उठाएर लामालाई बेपत्ता पारेका थिए । लामा स्थानीय व्यापारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए ।

द्वन्द्वसँग कुनै सम्बन्ध नभएका निहत्था नागरिकलाई नियन्त्रणमा लिएर बेपत्ता पारिएको, डेढ दशकसम्म पनि सङ्क्रमणकालीन न्यायका संयन्त्रबाट मुद्दा नटुंग्याइएको र आरोपितहरू राज्य शक्तिको उच्च ओहोदामा पुगिरहेको भन्दै नियमित फौजदारी न्याय प्रणालीबाटै निरूपण हुनुपर्ने निवेदक पक्षको माग छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS