images

कानुनअनुसार समाजलाई मान्य हुने गरी आए टिकटक लगायत कुनै पनि सामाजिक सञ्जालसँग आपत्ति छैनः मन्त्री शर्मा

काठमाडौं–सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई मान्य हुने गरी टिकटक लगायतका कुनै पनि सामाजिक सञ्जालहरू नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छिन् ।

बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी छिन् । उनले समाजमा अमर्यादित गतिविधिलाई महत्त्व दिने गरी टिकटकमा सामग्रीहरू उत्पादन र प्रसारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताउँदै कानुनी रूपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको बताइन् । उनले सरकारले नेपाल टेलिकम लगायतका ठुला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको बताइन् ।

उनले नियम कानुनको पालना गर्नेहरूले टिकट चलाउन नहुने बताइन । मन्त्री शर्माले सामाजिक सञ्जाल समाज अनुकुल हुने गरी प्रयोग गर्न आवश्यक रहेको बताइन् । सामाजिक सञ्जाल सम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रीपरिषद्मा पेश गरिएको जानकारी दिँदै अब संसदीय समितिमा गई व्यापक छलफल हुने विश्वास व्यक्त गरिन् । उनले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी भएको र अहिले सामाजिक सञ्जाल विधेयक संसदमा दर्ता गर्ने प्रक्रियामा रहेको बताइन् । मन्त्री शर्माले नेपालका कानुनहरू, नेपालको समाजको महत्त्व आफ्नै भएकाले सबैलाई मान्य हुने गरी कुनै पनि सामाजिक सञ्जालहरू आउँछन् भने आपत्ति नरहेको बताइन् । टिकटक नाममा समस्या नभई कन्टेनमा समस्या रहेको भन्दै नेपालको नियम कानुन र सोसल भ्याल्युलाई मानेर आउँदा र नेपालमा दर्ता भई स्वनियमन कायम गरे सबै सामाजिक सञ्जाल चलाउन सकिने बताइन् ।

उनले भने, ‘टिकटकको विषय पनि उठाउनुभएको छ । यो विषय के हो भने हामीले टिकटक, क्याबिनेटबाट नै निर्णय गरेर हामीले बन्द गरेका हौँ । अहिले यो कानुनी रूपमा भन्ने हो भने बन्दकै अवस्थामा छ । हामीले बन्द त्यो बेलामा सामाजिक मूल्य मान्यता भन्दा धेरै बढी भएको थियो । त्यस कारण त्यसलाई बन्द गरेर गएका हौँ । अहिले पनि हाम्रो एन टिसी लगायतका ठुला सेवा प्रदायकबाट यो खुलिरहेको छैन । तर पनि कसैले भिपिएन र साना इन्टरनेट सेवा प्रदायकबाट पनि भइरहेको छ । हामीले नियम कानुन पालना गर्ने र गराउने ठाउँमा छौँ, हामीले प्रयोग गर्नु हुँदैन । कुनै आग्रह, पूर्वाग्रह भएर भन्दा पनि त्यसलाई पूर्वीय दर्शनमा अडिएको हाम्रो परिवार र समाज हो । त्यस कारणले हाम्रो समाज अनुकुल हुने गरी प्रयोग गर्नुपर्छ । सामाजिक सञ्जाल सम्बन्धी हामी विधेयक क्याबिनेटमा गएको छ । आउने मन्त्रीपरिषद्को बैठकमा सामाजिक सञ्जाल सम्बन्धी विधेयक छलफल हुन्छ । त्यो विधेयक समितिमा जान्छ र सम्भवतः संसद्को समितिमा आई पुग्दासम्म हामी व्यापक छलफल हुनेछ । नेपाल सरकारको यी विषयमा कुनै कानुन थिएन । हामीले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी ग¥यौँ । अहिले सामाजिक सञ्जाल विधेयक हामीले संसदमा दर्ता गर्ने प्रक्रियामा छौँ । यो गर्दै गर्दा सबै विषयमा हामीले छलफल गर्नुपर्छ । नेपालका कानुनहरू, नेपालको समाजको महत्त्व आफ्नै छ । यो सबैलाई मान्य हुने गरी कुनै पनि सामाजिक सञ्जालहरू आउँछन् भने टिकटक लगायत कसैसँग पनि आपत्ति छैन । टिकटक नाममा हाम्रो कुनै समस्या होइन । टिकटकले जुन कन्टेनहरु दिन्थ्यो, त्यो स्वनियमनको व्यवस्था थिएन, सबैले स्वनियमनको व्यवस्था गर्नुपर्छ भनेर सोचेका हौँ । हामीले फेसबुक सञ्चालकहरूसँग भेटेका छौँ । उहाँहरूसँग हामीले उहाँहरूलाई नेपालको नियम कानुन र सोसल भ्याल्युलाई सबैले मान्नुपर्छ भनेका छौँ । यहाँ दर्ता भएको हुनुपर्छ । अहिलेसम्म कुनै पनि सामाजिक सञ्जाल दर्ता भएको थिएन । दर्ता भएर राम्रोसँग चलाउनु पर्छ । हामीले कानुनी दायरामा ल्याउने प्रयत्न गरेका हौँ ।’

मन्त्री शर्माले राजनीतिक रूपमा प्राप्त उपलब्धि र सामाजिक चेतनाको बीचमा अन्तर्विरोध भएको बताइन् । उनले राजनीतिक व्यवस्थाअनुरूपको सामाजिक चेतना कसरी निर्माण गर्ने रु भन्ने विषयमा राज्यको नेतृत्वदायी भूमिका हुन जरुरी रहेको बताइन ।