images

गर्मी बढेसँगै ७२ जिल्लामा फैलियो डेंगु सङ्क्रमण,सचेत रहन स्वास्थ्यकर्मीको आग्रह

काठमाडौं–गर्मी बढेसँगै डेंगु रोगको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । सरकारी तथ्याङ्क अनुसार हाल देशका ७२ जिल्लामा डेंगुको सङ्क्रमण देखिएको छ । पछिल्लो ६ महिनामा १ हजार २ सय ४१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । चिसो मौसममा केही मत्थर भए पनि गर्मीबढेसँगै सङ्क्रमणको ग्राफ उकालो लागेकाले सचेत रहन चिकित्सकहरूले सुझाव दिएका छन् ।

एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग हाल नेपालको ७२ जिल्लामा फैलिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो ६ महिनामा १ हजार २ सय ४१ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । यो ग्राफ अझै उकालो लाग्ने क्रममा छ । पहिले तराईको जिल्लामा मात्र देखिने डेंगु पछिल्ला वर्ष भने हिमाली जिल्लामा पनि देखिन थालेको छ । काठमाडौंमा १ सय ४१ जना, झापामा १ सय १२ जना, चितवनमा ७५, मकवानपुरमा ५९, डोटीमा ४७, तनहुँमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुङ्गामा ४१, रुपन्देहीमा २८ र भक्तपुरमा २७ जना सङ्क्रमित भेटिएका छन् । प्रादेशिक तथ्याङ्क हेर्दा सबैभन्दा बढी बागमतीमा ४ सय २८ जना, कोशीमा २ सय ८५, गण्डकीमा १ सय ८८, लुम्बिनीमा १ सय ४८, सुदूरपश्चिममा १ सय ४०, मधेश प्रदेशमा ३४ र कर्णालीमा १८ जनामा सङ्क्रमण देखिएको छ ।

टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ शेरबहादुर पुनले पछिल्ला दिनमा ज्वरोका बिरामी बढेको र डेंगी सङ्क्रमण देखिने दर पनि बढेको बताए । डेंगी सङ्क्रमण देखिएका बिरामीमा उच्च ज्वरोसँगै टाउको दुख्ने, आँखा दुख्ने, हाड जोर्नी, मांसपेशी तथा ढाड दुख्ने, रिङटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने लक्षण देखिने गरेको पुनको भनाइ छ । उनले डेंगु नियन्त्रणका लागि लार्भा नष्ट गर्नु नै उपयुक्त उपाय भएको भन्दै सबैलाई सचेत रहन आग्रह पनि गरे ।

उनले काठमाडौं उपत्यका डेंगु सङ्क्रमणको उच्च जोखिममा रहेको पनि बताए । मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमणको जोखिम बढ्ने हुँदा नियन्त्रणका लागि सरोकारवाला निकायले सक्रियता देखाउनु पर्ने उनको भनाइ छ ।

मनसुनको समयमा लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले डेंगु सङ्क्रमण बढ्ने हुने हुँदा पानी जम्ने ठाउँ पुर्नुका साथै सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ । त्यस्तै लामखुट्टेको टोकाइबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने, घरको झ्याल ढोकामा जाली लगाएर बस्दा लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।