images

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं– सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव डा। वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिवअर्याललगायत १२ जनाविरुद्ध अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।

अख्तियारले अर्यालसहित अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलगायत विरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको नेपालको इतिहासमा पहिलो पटक मुख्यसचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

शुक्रवारको बोर्ड बैठकको निर्णयअनुसार मुख्य सचिव अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दाको फाइल लिएर अख्तियारको टोली विशेष अदालत पुगेको थियो । मुद्दाको फाइल रुजु सकिएपछि अर्यालविरुद्ध मुद्दा दायर भएको हो ।

अख्तियारले केही पूर्व मन्त्रीहरू पनि मुछिएको टेरामक्स प्रकरणमा पनि अर्यालविरुद्ध छानबिन थाल्दै छ । टेरामक्स प्रकरणमा अख्तियारले पूर्व मन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतसँग बयान लिइसकेको छ ।

अर्यालविरुद्ध मुद्दा चलाउने निर्णय भइसकेको जानकारी अख्तियार प्रमुख प्रेमकुमार राईले शुक्रवार नै प्रधानमन्त्रीलाई दिएका थिए । यस्तोमा प्रचण्डले मुख्यसचिव अर्याललाई बोलाएर आइतबार बिहान करिब १ घण्टा छलफल गरेका थिए ।

प्रधानमन्त्रीले बोलाएर उनलाई पदबाट राजीनामा दिन सुझाएका थिए । भ्रष्टाचार मुद्दा चल्ने भएपछि मुख्यसचिव अर्याललाई पदबाट बाहिरिन दबाब परेको थियो । मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा पर्ने भएकाले उनको बहिर्गमनका लागि कोसिस भएको थियो । तर उनले राजीनामा दिएनन् । अब उनी स्वतः निलम्बनमा परेका छन् ।