images
images
images

लमजुङमा पहिरोमा परी बेपत्ता भएका चार मध्ये एकको शव भेटियो

काठमाडौं– लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चार जना मध्ये एक जनाको शव फेला परेको छ । बाँकी तीन जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकामध्ये ६९ वर्षीय रुद्रमान गुरुङको शव फेला परेको वडा नम्बर ३ का वडा सदस्य बिनप्रसाद घलेले जानकारी दिए ।

पच्युटोलमा गए राति पहिराले तीन घर पुरिँदा चार जना बेपत्ता र एक जना घाइते भएका थिए । लगातारको वर्षासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।

पहिरोमा परी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए ।

यसैबीच, लमजुङको दोर्दी गाउँपालिका–९ मा गए राति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ ।

उक्त घटनामा १८ वर्षीय मिलन सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए ।

विकल र मिलन दाजुभाइ हुन् । दुवै जनालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकामा विकलको उपचारकै क्रममा मृत्यु भएको हो । मिलनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बेपत्ता भएकाहरूको बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS