काठमाडौं–नेपालमा गत जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो । नेपालको पूर्वी क्षेत्र हुँदै अहिले मनसुन देशभर सक्रिय छ । साथै आगामी आइतबारसम्म अत्यधिक वर्षा हुने भएकाले सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।
आगामी दिनमा सीमित क्षेत्रमा मात्रै वर्षा हुने भएकाले जलवायु तथा मौसम विज्ञान विभागले बढी वर्षा हुने भनेर जोखिम किटान गरेका ठाउँमा विशेष सतर्कता अपनाउनुपर्ने जलवायु विज्ञ डा. धर्म उप्रेतीले बताए । उनले साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउन सक्ने जोखिम न्यूनीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले समयमा नै ध्यान दिनुपर्ने बताए ।
मनसुन भित्रिएको २५ दिनमा ८ करोड बढीको क्षति
विज्ञ उप्रेतीकारअनुसार नेपालमा मनसुन भित्रिएको २५ दिनमा ४५ जनाले ज्यान गुमाएका छन् भने ८ करोड २० लाख भन्दा बढीको हानी नोक्सानी भएको छ । त्यस्तै भरी वर्षा सुरु हुनु भन्दा अगावै भएको यो क्षतिलाई हेर्दा पनि आगामी तीन महिनाभित्र नेपालमा विपद्बाट ठुलो नोक्सानी हुने देखिएको बताए । उनले मनसुन भित्रिएको २५ दिनमा ४६ वटा भौतिक संरचनाहरू बाढी र पहिरोका कारण ध्वस्त भएको बताए । यस समयमा २५९ पशु चौपाया मरेका छन् भने ४ सय वटा जलवायुजन्य घटनाहरू (बाढी, पहिरो, डुबान, चट्याङ) भएका छन् ।
उनले भने, ‘नेपालमा मनसुन सुरु भएको २५ दिन लगभग भयो । जेठको २८ गतेदेखि नेपालमा मनसुन सुरु भएको थियो । मनसुनले सुरुवाती अवस्थामा नै धेरै ठुलो हानी नोक्सानी गरेको छ । हिजो सम्मको क्षतिलाई विश्लेषण गर्दा लगभग ४७ जनाले ज्यान गुमाएको देखिन्छ । ८ करोड २० लाख बराबरको आर्थिक क्षति पनि यो २५ दिनमा भएको छ । ४६ वटा भौतिक संरचनाहरू पनि यही बीचमा बाढी पहिरोका कारणले ध्वस्त भएका छन् । मान्छेको जीविकोपार्जनसँग जोडिएको पशु चौपाया लगभग २५९ वटा मरेका छन् । २५ दिनमा ४ सय वटा जलवायुजन्य घटनाहरू ९बाढी, पहिरो, डुबान, चट्याङ० का घटना भए । त्यसमा भएको क्षति हो भयो ।’
आगामी तीन महिनामा नेपालमा अत्यधिक वर्षा हुने
विज्ञ उप्रेतीले असारमा औसत भन्दा कम पानी पर्दाको क्षति ठुलो भइसकेको भन्दै आगामी तीन महिनामा नेपालले व्यहोर्नुपर्ने क्षतिको भार नेपालले व्यहोर्न नसक्ने बताए । उनले समयमा नै सरकारले विशेष ध्यान दिन र सतर्कता अपनाउन नसके विपद्बाट ठुलो क्षति हुने निश्चित रहेको बताए । नदी किनारमा भएका बस्तीहरू, भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, लिएर खानेपानी, कृषि सबैमा विपद्को प्रभाव बढेको बताए । उनले मनसुनको न्युनचापीय रेखा नेपालमा रहेकाले यस समय भारी वर्षा हुने बताए । उनले विपद् पूर्व नै विपद् हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँका स्थानीयहरूलाई सचेत गराउन आवश्यक रहेको बताए ।
उनले भने, ‘यो पहिलो महिना अझ औसत भन्दा कम पानी परेको अवस्था छ । औसत भन्दा बढी पानी पर्ने अवस्था अब सुरु भयो । जब हामी असारको १५ पछि प्रवेश ग¥यौँ । असारको १५ देखि असोजसम्मको अवस्थामा औसत भन्दा बढी पानी पर्छ । पछिल्लो वर्षका क्षतिलाई पनि आङ्कलन गरेर हेर्ने हो भने नदी किनारमा भएका बस्तीहरू, भौतिक संरचनाहरू, विद्युतका संरचना, विद्यालयदेखि लिएर खानेपानी, कृषि सबैमा यसको प्रभाव परेको छ । त्यसले हानी नोक्सानी बढेको छ । मनसुनको पूर्व सन्ध्यामै ८ करोडको क्षति भयो भने बढी वर्षा हुने तीन महिनामा कति क्षति हुन्छ । अब आउने तीन महिना बढी जोखिमपूर्ण छ । यसले बढी क्षति गर्नेछ । मौसम पूर्वानुमानले यस्तो हुँदै छ भनेर सूचना पनि दिएको छ तर त्यो सूचनाको पूर्वानुमानमा आधारित पूर्व कार्यमा अझ हामीले धेरै गर्नुपर्नेछ । केन्द्र, प्रदेश र स्थानीय सरकार अलर्ट अवस्थामा बस्नुपर्ने हो । हामी विकासमा काम गर्दै छौँ, नेपाल धनी देश होइन, भनेपछि हामीले २५ दिनमा ८ करोडको क्षति व्यहोर्नु भनेको हाम्रो लागि ठुलो क्षति हो । त्यो ८ करोडमा हामी अर्को विकासको योजनामा काम गर्न सक्थ्यौँ । गैर आर्थिक क्षतिको पनि गणना गर्ने हो भने कुनै ठाउँमा पहिरो गएर बस्ती नै सार्नुपर्ने अवस्था छ । कुनै ठाउँको त्यो सांस्कृतिक अवस्थामा नोक्सान भएको छ । वनस्पतिहरू कति नष्ट भए त्यसको पनि हामीले गणना गरेका छैनौँ । राज्य, सञ्चारमाध्यम, सिभिल सोसाइटी, स्थानीय सरकारले गर्नुपर्ने काम धेरै छन् ।’
न्युनचापीय रेखा नेपाल नजिक, आइतवरसम्म भारी वर्षा हुने
विज्ञ उप्रेतीले मनसुनको न्युनचापीय रेखा नेपालको नजिक रहेको र यस समय बढी वर्षा हुने भन्दै आइतबारसम्म सावधानी अपनाउन आग्रह गरे। उनले पोखरा, काठमाडौं, सुदूरपश्चिममा दिपायल, कोशी प्रदेशका केही भूभागमा अत्यधिक वर्षा हुने बताए । उनले भू बनावटले थेग्ने भन्दा वर्षा भएको खण्डमा पहिरो जाने उच्च सम्भावना रहेको बताए ।
उनले भने ‘मनसुनको न्युनचापीय रेखा उत्तरतिर छ, नेपालको नजिक छ । नेपालको नजिक मनसुनको न्युनचापीय रेखा जब आउँछ, त्यति बेला नेपालमा बढी पानी पर्छ । यो स्वाभाविक हो । आजदेखि आइतबारसम्म नेपालमा औसत भन्दा बढी पानी पर्छ । पोखराको वरपर, सुदूरपश्चिममा दिपायलदेखि त्यो स्थानमा, काठमाडौं वरपर, कोशी प्रदेशका केही भूभागमा आइसोलेटेड हेभी रेनफल हुने धेरै भारी वर्षा हुने सम्भावना पनि छ भने केही ठाउँमा मध्यम वर्षा र केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । जुन ठाउँमा भारी वर्षा हुन्छ, त्यो ठाउँको थ्रेसहोल्ड त्यहाँको भू बनावटले थेग्ने भन्दा बढी भयो भने त्यहाँ पहिरो जाने हुन्छ ।’
पानी पर्ने तरिकामा परिवर्तन भयो
विज्ञ उप्रेतीले पछिल्ला केही दिन यता पानी पर्ने तरिकामा पनि परिवर्तन भइरहेको बताए । उनले एकै ठाउँमा मुसलधारे पानी पर्ने र त्यसको असर समुदायमा पर्ने गरेको बताए । उनले एकै ठाउँमा धेरै वर्षा हुँदा मानिसहरू डराउने गरेको उल्लेख गरे । आगामी दिनमा पनि सीमित क्षेत्रमा ठुलो र लामो समय पानी पर्ने भएकाले सतर्क रहन आग्रह गरे । तराई र सहरी क्षेत्रमा बाढी आउने मात्र नभई डुबान पर्ने सम्भावना रहेको बताए । क्षेत्रलाई निर्धारण गरी सोही अनुसारको पूर्व सूचना प्रणाली बनाउन सके मानिसहरू सचेत हुने र विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने बताए ।
उनले भने, ‘पानी पर्ने तरिकामा अहिले परिवर्तन हुँदै गएको देख्न सकिन्छ । एकै ठाउँमा मुसलधारे पानी पर्छ । यस्तो पानी परेको अवस्थामा मानिसहरू डराउने अवस्था हुन्छ । आगामी दिनमा पनि सीमित क्षेत्रमा मात्रै धेरै वर्षा हुने सम्भावना रहेको छ । भारी वर्षा भएको क्षेत्रमा बढी जोखिम हुन सक्नेछ । तराई र सहरी क्षेत्रमा बाढी आउने मात्र नभई डुबान पर्ने सम्भावना रहेको छ । संवेदनशील क्षेत्रलाई जोगाउने कुरामा पनि बढी ध्यान दिनुपर्छ । साथै जुन ठाउँमा बढी पानी पर्दै छ, त्यो क्षेत्रलाई निर्धारण गरी सोहीअनुसारको पूर्व सूचना प्रणाली बनाउन सके मानिसहरू सचेत हुन्छन् । साथै विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सक्छौँ ।’
भौतिक संरचना जलवायुमैत्री बनाउनु पर्छ, तत्काल काम रोक्नुपर्छ
निर्माण क्षेत्रले आगामी दिनमा जलवायुमैत्री भौतिक संरचना निर्माण नगर्ने हो भने विपद्को क्षति झनै धेरै बढ्ने विज्ञ उप्रेतीले बताए । उनले नदी किनारमा बनाइएका संरचनाहरुः जस्तै ऊर्जाको भौतिक संरचना, खानेपानीको भौतिक संरचनाहरू बनाउँदा दीर्घकालीन रूपमा सोचेर बनाउनुपर्ने बताए । उनले भौतिक संरचनामा प्रयोग गरिने सिमेन्ट,रडहरू बाढीको जोखिम कम हुने क्षेत्रमा राख्नुपर्ने सुझाव दिनुभयो । उहाँले बाढी, पहिरोको जोखिम भएका ठाउँमा तत्काललाई काम रोक्नुपर्ने बताए ।
उनले भने, ‘निर्माण क्षेत्रमा भएको क्षति हेर्ने हो भने नदी किनारमा बनाइएका जति पनि भौतिक संरचनाहरू छन् । त्यो ऊर्जाको भौतिक संरचनाहरू, खानेपानीको भौतिक संरचनाहरू बढी छन् । यो भौतिक संरचनाहरू जुन नदी किनारमा हुन्छन्, त्यसको दुई वटा पाटा छन् । एउटा ५ वर्षमा एक पटक आउने बाढी, १० वर्ष वा १५, २०, ५० वा सय वर्षमा जुन बाढीको रिटर्न पिरियटलाई ख्याल गरेर पहिला प्लानिङमा पनि कस्तो खालको जोखिम आउन सक्छ, १० वर्षमा, १५ वर्षमा र २० वर्षमा भन्ने एउटा योजना चाहियो । भौतिक संरचनामा प्रयोग गरिने सिमेन्ट,रडदेखि लिएर जति पनि सरसामानहरू छन् । त्यसलाई अलिकति बाढीको जोखिम हुने क्षेत्र, बाढीको जोखिम हुने औसत रैथाने ज्ञानबाट पनि थाहा हुन्छ । त्यो ठाउँमा वैज्ञानिक उपकरण नै जडान भएको हुनुपर्ने भन्ने छैन । यद्यपि कतिपय ठाउँमा जल तथा मौसम विज्ञान विभागको उपकरण राखिएको अवस्था पनि छ । वार्निङ, बिलो वार्निङ र डेन्जरको जुन अवस्था छ, त्यसलाई पनि हामीले सुन्नुपर्छ । योजना कार्यान्वयन गर्न मेट्रियलको सप्लाई, स्टोरेज र कामको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागबाट आएको फोर काष्ठलाई र त्यो अवधिभरमा काम गर्नु भन्दा काम रोक्नु फाइदाजनक हुन्छ । त्यो बेला काम गर्दा एक पटक ठुलो क्षति भयो, बाढी आयो भने त्यसले भौतिक संरचनाको क्षति मात्र नभई श्रमजीवीको ज्यान पनि खतरामा पर्छ । त्यसलाई पनि मध्यनजर गरी योजना बनाउनु पर्छ ।’
उनले नेपाल र छिमेकी देश भारतले सीमा नाकामा बनाउने संरचना जलवायुमैत्री बनाउन आवश्यक रहेको विज्ञ उप्रेतीले बताए । उनले बाढीको पूर्व सूचनालाई प्रभावकारी बनाउन र स्थानीय, प्रदेश र राष्ट्रिय आपत्कालीन केन्द्रलाई प्रभावकारी बनाइ कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।