images
images

केपी ओलीलाई शिक्षामन्त्री श्रेष्ठको प्रश्न, राजनीतिमा लागेका शिक्षकहरूमाथि कारबाही गर्न खोज्दा सरकार नै परिवर्तन गर्न खोज्ने ?

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिमा लागेका शिक्षकहरूलाई कारबाही गर्न खोज्दा सरकार परिवर्तन गर्न खोजेको आरोप लगाएकी छिन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गर्दै उनले उक्त आरोप लगाएकी हुन् ।

सामाजिक सञ्जाल मार्फत मन्त्री श्रेष्ठले लेखेकी छिन्। ‘आदरणीय केपी बा ! शिक्षकले राम्रो नपढाउँदा एसइईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ’ सामाजिक सञ्जालमा उनी लेख्छिन्,’अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर मैले फाइल अगाडि बढाउँदा सरकार नै परिवर्तन गर्न खोज्ने। तपाईँको शिक्षकले तपाईँकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब।’

बिहीबार बुटवलमा एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शिक्षकका कारण एसइईको नतिजा राम्रो नआएको बताएका थिए। ओलीको सोही भनाइमा शिक्षामन्त्री श्रेष्ठले यस्तो प्रतिक्रिया दिएकी हुन्।