images

सोमबारसम्म देशका अधिकांश क्षेत्रमा बाढीको उच्च सम्भावना, सतकर्ता अपनाउन आग्रह

काठमाडौं–बाढी तथा पहिरोको उच्च जोखिम भएकाले उच्च सतकर्ता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै आगामी सोमबारसम्म नदीहरूमा पानीको बहाव बढ्न सक्ने भन्दै उच्च सतकर्ता अपनाउन आग्रह गरिएको हो ।

आगामी तीन दिन कोशी र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला र पूर्वी राप्ती नदीको जल सतह उल्लेख्य बढ्ने जारी सूचनामा उल्लेख छ ।

आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ ।

आज र सोमबार नारायणी, कोशी, महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेती र यसका सहायक नदीहरूमा जल सतह सतर्कता तह आसपास हुने पूर्वानुमान छ । नारायणी, कोशी र महाकालीमा उच्च जोखिमको अवस्था हुने पूर्वानुमान छ । यसै गरी कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेतीमा मध्यम जोखिमको सम्भावना छ ।

 

झापा, मोरङ, सुनसरी, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, चितवन, कास्की, बागलुङ, पर्वत, स्याङ्जा, म्याग्दी, नवलपरासी पूर्व र आसपासका जिल्ला भई बग्ने नदी तथा खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम छ ।

यसै गरी मध्यम जोखिम हुने अन्य जिल्लाहरूमा नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा, प्युठान, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, बाजुरा, बैतडी र बझाङ समेत छन् ।
हेर्नुहोस् सूचनासहित