images

असारे विकासको नाममा अर्बौँ खर्च !

काठमाडौं– झमझम पानी पारी रहेको छ । यति बेला किसानलाई धान रोप्ने चटारो हुनुपर्ने हो । तर हाम्रो देशमा ठेकेदारलाई असार लागेको छ, विकास निर्माण गर्ने चटारोले छोएको छ । विभिन्न सरकारी निकाय र अड्डाहरू ठेकेदारलाई भुक्तानी गर्ने हतारमा छन् ।

अरुबेला पारीलो घाम लाग्दा विकास निर्माण सुरु पनि भएन तर जब असार लाग्यो । जब आर्थिक वर्ष सकिन लाग्यो त्यसपछि विकास सुरु भएको छ। काम धेरै देखाउने र धेरै भुक्तानी लिने फोहोरी खेल सुरु भएको छ । विनियोजित बजेट असार मसान्तभित्र खर्च गरिसक्नुपर्ने र ठेकेदार कम्पनीहरूले पनि असार मसान्तभित्रै योजना सम्पन्न गरी भुक्तानी स्वीकृत गरिसक्नुपर्ने नियमले गर्दा असारमा रोपाइँको भन्दा बढी विकासको चटारो परेको देख्न पाइन्छ ।

यसले दिगो विकास भन्दा पनि बजेटको दुरुपयोग मात्रै बढाएको छ । वर्षको एघार महिना सुस्ताएका ठेकेदार कम्पनीहरू पनि असार महिना लागेपछि भने काम गर्न जुरमुर्‍याउने र सरकार पनि असार लागेपछि मात्रै विकासको काममा जाँगर देखाउने प्रवृत्तिले असारे विकास गलत परम्परा बन्दै गएको छ । झमझम पानी परिरहँदा गरिने असारे विकास टालटुले काम बाहेक केही होइन । आज बनाएको बाटो कुन बेला भत्किन्छ कुनै ठेगाना हुँदैन । अझै कतिपय ठाउँमा त पानी पारी रहेको बेला सडक पिच गर्नेजस्ता कामहरू पनि भएका छन् । जसको आयु एक दिन भन्दा दुई दिन हुँदैन । यस्तो प्रकारको टालटुले काम गरेर बजेट सक्ने प्रवृत्तिले गर्दा एउटै कामका लागि पटक पटक बजेट विनियोजन गर्नुपर्ने बाध्यता छ । यस्तो प्रवृत्तिले आम उपभोक्ताले कुनै सुविधा नपाउने, तर ठेकेदार कम्पनी र तिनका मतियारहरूले मात्रै लाभ हासिल गर्ने गरेका छन् ।

विशेष गरी सडक निर्माण र मर्मत गर्ने काम भइरहेको देख्न पाइन्छ । सडक निर्माणको नाउँमा डोजर र एक्स्काभेटर जथाभाबी जग्गा सम्म्याउने, माटो भर्ने र पहाडको भित्ता फोर्ने काम जताततै भइरहेको देख्न सकिन्छ । अनि सडक मर्मतको नाउँमा सिमसिम पानीमा सडक कालोपत्रे गरिरहेको, धुलो, माटो र पानीमाथि नै कालोपत्रे गरिरहेको पनि देख्न पाइन्छ ।

कतै कालोपत्रेमाथि नै कालोपत्रे थपिँदै गरेको पनि देख्न पाइन्छ । स्थानीय जनप्रतिनिधिहरूले पनि जनतालाई विकासको काम भएको र आफ्नो प्रतिबद्धता पूरा गरेको देखाउन यही असार महिनालाई नै उपयुक्त महिना ठानेर बाटोघाटो, पुल पुलेसा आदि इत्यादि बनाउने कामलाई प्राथमिकता दिन्छन् । त्यही भएर हुन सक्छ वैशाखसम्म दैनिक ४०, ४५ करोड मात्र विकास खर्च भइरहेकोमा असार लागेपछि भने दैनिक अर्बौँको खर्च हुन थालेको छ ।
असारमा कुन गतिमा विकास खर्च भइरहेको छ ? हेर्नुहाेस् विवरण
असार १ गते १ अर्ब १६ करोड
असार ५ गते १ अर्ब २७ करोड
असार ७ गटे १ अर्ब ३४ करोड
असार ८ गते १ अर्ब ७ करोड
असार १२ गते १ अर्ब १४ करोड
असार १९ गते १ अर्ब ८० करोड
गत साल अर्थात् २०८० असार २० गतेपछिको दैनिक विकास खर्च हेरौँ 
२०८० असार २० गते ३ अर्ब ७७ करोड
२०८० असार २१ गते ३ अर्ब ९५ करोड
२०८० असार २२ गते ४ अर्ब १ करोड
२०८० असार २३ गते ५ अर्ब ५६ करोड
२०८० असार २४ गते १९ अर्ब ९९ करोड
२०८० असार २६ गते २ अर्ब ५ करोड
२०८० असार २७ गते १ अर्ब ७१ करोड
२०८० असार २८ गते २ अर्ब ६३ करोड
२०८० असार २९ गते ५ अर्ब ९८ करोड
२०८० असार ३० गते ९ अर्ब ३८ करोड
२०८० असार ३१ गते १ अर्ब ११ करोड

यसरी गत साल असारको अन्तिम १० दिनमा मात्र ५५ अर्ब बढी विकास खर्च भएको छ । असार २० गतेसम्म ४५ दशमलव ४१ प्रतिशत रहेको विकास खर्च ३१ सम्म पुग्दा ६१ दशमलव ४४ प्रतिशत पुगेको छ ।
यो आर्थिक वर्षमा पनि गत असार १५ गतेसम्म ४८ प्रतिशत रहेको विकास खर्च असार अन्तिममा पुग्दा ७० प्रतिशतको सेरोफेरोमा पुग्ने देखिन्छ । यो तथ्यांक हरेक वर्ष उही प्रकृतिमा बढी रहेको छ । अझै असारको अन्तिम साता कारोबार गर्न नपाइने भए पनी अर्बौँको भुक्तानी दिने गरिन्छ । अर्बौँको रकमान्तर गरेर एकातिरको बजेट अर्कोतिर पुर्‍याइन्छ ।

त्यसमाथि असारे झरीमा विकास निर्माणको काम गर्दा सरकारले नै उचित अनुगमन गरी गुणस्तरीयता कायम गराउने प्रयास गरेको छैन । जताततैबाट बजेट फ्रिज हुन नदिने उद्देश्यले मात्रै विकासको कामलाई तीव्रता दिँदा न्यून गुणस्तरको काम हुने गरेको छ । यसले गर्दा ठेकेदार कम्पनी र केही बिचौलियालाई आर्थिक लाभ त हुने गरेको छ, तर यसको सीधा असर विकासको दिगोपनामाथि परेको छ । असार वा असारअघि बनाएको सडक असारपछि नै हराउने अथवा असार वा असारअघि कालोपत्रे गरिएको सडक असारपछि नै हिलाम्मे सडकमा परिणत हुने गरेको छ । एक त विकास बजेट भनेर अत्यन्तै न्यून बजेट विनियोजन गर्ने, त्यसमाथि ९, १० महिना काम नगर्ने र अन्तिम एक दुई महिना काम गर्दा लक्ष्य अनुसार पुँजिगत खर्च हुन सकेको छैन भने सरकारी कोशको रकम लामो समय होल्ड हुने गरेको छ । चालु आर्थिक वर्षको अवस्थालाई हेर्ने हो भने पनि अहिलेसम्म विकास खर्चको आधा मात्र खर्च भएको छ । अबको एक हप्तामा विनियोजित सबै विकास खर्च गर्ने हो भने दैनिक २० अर्ब बढी खर्च गर्नुपर्ने हुन्छ । जुन असम्भव नै छ ।

साँच्चै विकासको काम गर्ने र दिगो विकासलाई सघाउने हो भने वर्षैभरि असारमा जसरी तीव्र गतिमा काम हुन्छ त्यही गतिमा काम गर्नुपर्छ र काममा गुणस्तर कायम राख्नुपर्छ । अहिले भइरहेको असारे विकासको काममा गुणस्तरको आस गर्नु मूर्खता मात्र हो । यो सत्य र तथ्यबाट सरकारका जिम्मेवार निकाय पनि जानकार छन् । तर जानकार नभएको नाटक गर्दै आएका छन् । यही नै ठुलो विडम्बना हो ।