images

राजनीतिक हस्तक्षेप र विकृतिको कारण आक्रान्त बन्दै शिक्षा क्षेत्र

काठमाडौं–संविधानले मौलिक हकको रूपमा व्याख्या गरेको शिक्षा क्षेत्रलाई विभिन्न विकृतिले गाँजेको छ । नीति निर्माण तहमा नै समस्या हुँदा शिक्षा क्षेत्रमा दर्जनौँ विकृतिहरू छन् । जसका कारण मुलुकको शिक्षा क्षेत्र पछिल्लो समय आक्रान्त बनेको छ । विद्यार्थी पलायन, राजनीतिक हस्तक्षेप र असमानता शिक्षा क्षेत्रका शत्रु नै बनेका छन् ।

शिक्षा समाजको ऐना हो । अर्थात् शिक्षा समाज विकासको संवाहक हो । तर, त्यही शिक्षा विकृति र विसङ्गतिले थिलथिलो हुँदा मूलकले लक्ष्य अनुसार समृद्धि हासिल गर्ने सकिएको छैन । विद्यालय तथा क्याम्पसमा राजनीतिक हस्तक्षेप बन्द गर्नु जरुरी छ । भागबन्डाको आधारमा शिक्षक नियुक्ति गर्दा पनि शिक्षा क्षेत्रमा समस्या देखिएको छ । त्यस्तै शिक्षामा देखिएको निजीकरण पनि अन्त्य गर्नु आवश्यक छ । सरकारी तथा सामुदायिक विद्यार्थीमा राजनीतिक दलका कार्यकर्ता भर्ना भइरहेका छन् भने निजी विद्यालयहरूले आर्थिक उपार्जनका लागि मात्र शिक्षाको व्यापार गरिरहेका छन् । शिक्षाविद्का प्रदीप बोहराका अनुसार शिक्षा सम्पूर्ण रूपमा निःशुल्क भएमा यस्ता विकृतिहरू अन्त्य हुन सक्छन् । शिक्षा निजीकरण हुनबाट रोक्न आजको प्रमुख आवश्यकता भएको उनको भनाइ छ ।

विगतमा राजनीतिक हस्तक्षेपका कारणले शिक्षालाई जागिर खाने थलो बनाइँदा समस्या उत्पन्न भएको हो । शिक्षालाई मानिसको सीप, आवश्यकता, समाज र राष्ट्रियतासँग जोडिएको छैन । मूलकको शिक्षा व्यवहारिक भन्दा पनि सैद्धान्तिक भएका कारण बेरोजगारीको समस्या विकराल बन्दै गएको छ । संस्कार, संस्कृति, धर्म, सीप सहितको शिक्षा मासिँदै गएका कारण शिक्षाको धरातल कमजोर बनेको छ । नेपालमा कक्षा १२ पढेपछि अध्ययनका लागि विदेश जाने चलन पनि झन् विकराल बन्दै गएको छ । शिक्षाविद् प्रा।डा विनय कुमार कुसियैतका अनुसार शिक्षा सार्वजनिक हुनुपर्नेमा आर्थिक लेनदेनको विषय बनाएका कारणले समस्या उत्पन्न भएको छ ।

शिक्षा क्षेत्रलाई विकृत रहित गुणस्तरीय र प्रभावकारी बनाउन समयमै सम्बन्धित निकायले पहल गर्नु जरुरी छ । जिम्मेवार निकायबाट बेवास्ता हुँदा मुलुकको शिक्षा प्रणाली जमेको पोखरी जस्तै बनेको छ । अहिले सम्म पनि शिक्षा ऐन २०२८ अनुसार शिक्षा क्षेत्र सञ्चालन भइरहनु सबभन्दा ठुलो विडम्बना हो ।