images
images

प्रधानमन्त्रीलाई प्रमुख सचेतक शाहीको चेतावनीः जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी नसेक्नुस्

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन् ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो चेतावनी दिएका हुन् । उनले दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्ने गलत भाष्य निर्माण नगर्न पनि आग्रह गरे । उनले हिरालाल विश्वकर्मा राजाकै पालामा शिक्षामन्त्री बनेको बताए । उनले जातीय छुवाछुतविरुद्धको कानुन राजा महेन्द्रकै पालमा बनेको पनि उल्लेख गरे । उनले राजनीति गर्न सबैलाई खुला रहेको भन्दै राजनीति गर्न तर जातियताको नाममा द्वन्द्व नभड्काउन आग्रह गरे ।

उनले भने, ‘यो रोष्ट्रममा उभिएर काम कम कुरा ठुला गर्नु भएन । त्यसले हामी जस्ता नयाँ सांसदलाई पनि गलत भाष्य निर्माण हुन्छ । दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्नुभयो । हिरालाल विश्वकर्मा भन्ने सुन्नुभएको छ । यो देशको शिक्षामन्त्री हुनुहुन्थ्यो राजाको पालामा । जातीय छुवाछुतविरुद्धको कानुन अहिले बनेको हो रु राजा महेन्द्रको पालमा २०२० तिर यो कानुन बनाइएको हो । तपाईंहरुलाई खुला छ, राजनीति गर्नुस् । चुनाव हुन्छ, चुनावमा जानुस् । चुनाव जितेर आउनुस्, हामी जस्ता अभियन्ता र टेलिभिजनमा कार्यक्रम चलाउनुभएका रवि लामिछानेजी आज गृहमन्त्री हुनुहुन्छ । तर जातजातिलाई फेरि भड्काएर फेरि आफ्नो रोटी सेक्ने काम यो संसद्को रोष्टमबाट नहोस् । किनभने अति भइसक्यो ।’

प्रमुख सचेतक शाहीले सर्त नमिलेर सरकार ढलेको भनेर सत्य बोल्न गृहमन्त्रीलाई आग्रह गरे ।