images
images

प्रचण्ड लक्षित लेखकको कटाक्षः लामो समय प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर बनाएछौँ

काठमाडौं– नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिपक्ष दलको नेता बन्न उपयुक्त पात्र भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले आफूमाथि विश्वासको मत माग्न प्रतिनिधिसभामा प्रस्ताव गरेपछि उनले सो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री दाहाल जबरजस्ती प्रतिपक्ष दलको नेता बन्न सक्ने भएकाले आफूलाई लामो समय प्रधानमन्त्री बनाएर आफूहरूले विगतमा गल्ती गरेको प्रमुख सचेतक लेखकको कटाक्ष थियो । उनले प्रधानमन्त्री दाहालमा पद गुम्न लाग्दाको पीडा र आक्रोश भएकाले आफूहरूले उहाँमाथि कुनै वाद, प्रतिवाद नगर्ने पनि बताए ।

प्रमुख सचेतक लेखकले भने, ‘प्रधानमन्त्रीलाई पीडा छ । त्यसले उहाँलाई आक्रोशित बनाएको छ । पीडा र आक्रोशका सँगसँगै इमोशनल भावबाट प्रेरित र निर्देशित हुनुहुन्छ । प्रधानमन्त्रीले विश्वासको मत माग्नुभएको छ । दुई ठुला दलले सहमति गरेर विश्वासको मत नदिने निर्णय गरेका छन् । प्रधानमन्त्रीज्युले विश्वासको मत नपाउने स्थिति छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले राख्नुभएको अधिकांश कुरामा मेरो असहमति छ । तर म उहाँले राख्नुभएको कुनै पनि विषयको खण्डन, प्रतिवाद, असहमति केही पनि गर्नेछैन । किनभने यसले थप कटुता उत्पन्न गर्छ । म के मात्रै आग्रह गर्न चाहन्छु भने हाम्रो संस्कार, संस्कृति, समाजले पीडामा रहेका कुनै पनि मानिसमाथि टिप्पणी गर्नु भनेको झन् ज्यादा पीडा दिनुभएकाले म त्यतातिर जान चाहन्न । र सम्माननीय प्रधानमन्त्री मेरो नेता पनि हो । यो सदनको पनि नेता हो । सबैको साझा व्यक्तित्व । खाली मैले एउटा राजनीतिक विषयमा टिप्पणी गर्न चाहन्छु–सम्माननीय प्रधानमन्त्रीज्यूले सुरुमै भन्नुभयो–दुई वटा ठुला दल मिल्यो भने संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर होला भनेर चिन्ता गर्नुभयो । यो चिन्ता मैले प्रधानमन्त्रीज्यू बाट मात्रै होइन, मैले पत्रपत्रिकामार्फत विज्ञहरू, विशेषज्ञहरू, राजनीतिक ज्ञाताहरूको पनि मैले यो कुरा सुनेको छु ।
यस्तो जबरजस्त प्रतिपक्षको दलको नेता हुनसक्ने व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले हिजो अस्ति प्रतिपक्षलाई कमजोर बनायौ कि । अव प्रतिपक्ष बलियो हुन्छ भन्ने मैले विश्वास गरेको छु ।’

प्रमुख सचेतक लेखकले अब प्रतिपक्ष संसदमा निकै बलियो हुने विश्वास समेत व्यक्त गरे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS