images

इटालीमा गर्मीका कारण पाँच जनाको मृत्यु

एजेन्सी–तातो लहरका कारण इटालीमा पाँच जनाको ज्यान गएको छ । देशभरमा कीर्तिमानी उच्च तापक्रम रेकर्ड भएको बताइएको छ । दक्षिणी अपुलिया क्षेत्रमा समुद्र तटमा गर्मीबाट बच्न खोज्दा ७० देखि ८२ वर्षका चार जनाको मृत्यु भएको एएनएसए समाचार एजेन्सीले जनाएको छ ।

हालसम्म सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये अपुलिया रहेको छ । स्थानीय निकायले अध्यादेश जारी गर्दै आगामी अगस्ट ३१ सम्म निर्माण र बगैँचा केन्द्रको काम दिउँसो गर्न निषेध गरेको थियो । पाँचौँ मृतक मध्य लाजियोका रहेका छन् । जुन रोम वरपरको क्षेत्र हो । समाचार एजेन्सीका अनुसार उच्च तापक्रमका कारण हृदयाघात भएको र मृत्यु भएको हुनसक्ने बताइएको छ ।

राजधानीको उपनगरमा एक ६८ वर्षीय पुरुष सडकमा मृत अवस्थामा फेला परेका थिए । लाजियोका स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा रोम लगायत यस क्षेत्रका सबै पाँच प्रान्तहरूमा जुलाई १७ सम्मका लागि तातो मौसम चेतावनी जारी गरेका छन् । गर्मीको लहरले लाजियो, अपुलिया, दक्षिणी क्यालाब्रिया र सिसिलीमा व्यापक जङ्गलमा आगलागी भएको छ ।