images
images

सिमलताल पहिरोः भारतीय प्राविधिक टोलीद्वारा खोजी कार्य सुरु

काठमाडौँ–त्रिशूली नदीमा खसेर बेपत्ता भएका यात्रुको खोजी कार्यका लागि चितवन पुगेको भारतीय प्राविधिक टोलीले आइतबार बिहान घटनास्थल सिमलतालबाट खोजी सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेस रिमालले नेपाली सुरक्षाकर्मीसहित भारतीय प्राविधिक टोलीले खोजी कार्य बिहानबाट सुरु गरेको जानकारी दिए ।

शनिवार आवश्यक प्रविधिसहित यहाँ आइपुगेको टोलीलाई जिल्ला सुरक्षा समितिसित छलफल गरेको थियो ।भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ ९एनडीआरइफ० का १२ जनाको प्राविधिक टोली चितवन पुगेको हो ।

“ टोलीले ३० मिटर गहिराइसम्मको वस्तु सङ्केत गर्न सक्ने सोनार क्यामेरा लगायतको प्रविधि प्रयोग गरेको छ ।” प्रहरी उपरीक्षक रिमालले भने–“ जिल्ला सुरक्षा समितिको बैठकपछि हिजो नै टोली कुरिनटार पुगिसकेको थियो ।”

केही दिनअघि गृहमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिचको शिष्टाचार भेटमा सिमलताल पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्यका लागि अत्याधुनिक प्रविधिसहित सहायता उपलब्ध गराउने बचन राजदूतले दिएका थिए ।

घटनापछि लगातार सुरक्षा निकाय खोजी कार्यमा जुटेको छ । हालसम्म २५ जनाको शव भेटिएको छ । जसमा सात जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भारतीय प्राविधिक टोली गरी दुई सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।