images

१५ दिनको बिचमा २ हवाई दुर्घटना, २३ जनाले गुमाए ज्यान, असुरक्षित नेपाली आकाश 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना भएको १५ दिनको अन्तरालमा नुवाकोटको सूर्यचौरमा एयर डायनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । बुधवार काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डायनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । योसँगै १५ दिनको अवधिमा हवाई दुर्घटनामा २३ जनाले ज्यान गुमाएका छन् । हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको छ । विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य रहेको आयोगलाई प्रतिवेदन बुझाउन ३० दिनको समय दिइएको छ ।

बुधवार दिउँसो १ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याप्रुबेसी उडेको एयर डायनेस्टी ९ एन एजेडी हेलिकप्टर उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्क विच्छेद भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जारी गरी हेलिकप्टर उडेको ३ मिनेटपछि काठमाडौं टावरसँग सम्पर्क विच्छेद भई शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्य चौर भन्ने स्थानमा दुर्घटनामा परेको जानकारी दियो ।

लुक्ला बाट फर्किए लगत्तै रसुवा उडेको हेलिकप्टर दुर्घटना हुँदा पाइलट अरुण मल्ल र ४ जना चिनियाँ नागरिक जुतड तात, जे ली, सीयाद इवी र जीक्वीङ सलीले ज्यान गुमाए । रसुवाबाट ५ जना यात्रु लिएर काठमाडौँ फर्किने तालिका रहेको हेलिकप्टर बिच बाटोमै दुर्घटनामा प¥यो । यसअघि साउन ९ गते काठमाडौँबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको जहाज उडान भर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा पाइलटबाहेक १८ जनाको मृत्यु भएको थियो । योसँगै १५ दिनमा हवाई दुर्घटनामा २३ जनाले ज्यान गुमाए । यसले नेपाली आकाश थप असुरक्षित हुँदै गएको देखिएको छ ।

नेपाली आकाशमा विगतको तथ्याङ्क हेर्ने हो भने हवाई दुर्घटनाको निकै डरलाग्दो अवस्था छ । नेपाली आकाशमा अहिलेसम्म हेलिकप्टर दुर्घटना मात्रै ४० वटा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार २७ डिसेम्बर १९७९ मा लेटाङमा भिभिआइपी हेलिकप्टर दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए । त्यसपछि २७ अप्रिल १९९३ मा हिमालयन हेलिकप्टर लेटाङमै दुर्घटना भएको थियो । यद्यपि सो दुर्घटनामा भने कुनै मानवीय क्षति भएको थिएन ।

पछिल्लो पटक मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो । ११ जुलाई २०२३ मा भएको उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए । एयर डायनेस्टीको हेलिकप्टर दुर्घटना पनि यो पहिलो होइन । यसअघि सन् २०१९ मा एयर डायनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो । चाटर्ड फ्लाइटका दौरान ताप्लेजुङको पाथीभरा मन्दिरबाट तेह्रथुम फर्कने क्रममा ९ एन एमाई कल साइनको हेलिकप्टर दुर्घटनामा परेको थियो । सो दुर्घटनामा तत्कालीन पर्यटन मन्त्री रवीन्द्रप्रसाद अधिकारी सहितको निधन भएको थियो ।

बुधवारको दुर्घटना खराब मौसमका कारण भएको आशङ्का गरिएको छ । दुर्घटनाग्रस्त क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लागेको थियो । नेपाली आकाशमा एकपछि अर्को हवाई दुर्घटना हुँदा यसले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नकारात्मक सन्देश गएको छ भने यात्रामा त्रास थपेको छ । राज्य भने घटनापछि छानबिन आयोग बनाएर औपचारिकता पूरा गर्नमै केन्द्रित छ । यदि, दुर्घटनाको दर बढ्दै जाने हो भने यूरोपियन युनियन जस्तै अरू देशले पनि नेपाली वायुसेवामाथि प्रतिबन्ध नलगाउलान् भन्न सकिँदैन ।