images

स्वास्थ्य बीमाबाट ५ लाखसम्मको उपचार खर्च व्यहोर्ने स्वास्थ्य मन्त्रालयको योजना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा गर्ने व्यक्तिले उपचार सुविधा पाउने रकम एक लाखबाट बढाएर पाँच लाख पुर्‍याउने महत्वाकांक्षी योजना अगाडि सारेको छ । हाल कार्यान्वयनमा रहेको एक लाख रुपैयाँको स्वास्थ्य बीमाले धेरै नागरिकलाई राहत दिए पनि यो रकम अपर्याप्त रहेको मन्त्रालयले निश्कर्ष निकालेको छ । विशेष गरी मिर्गौला, मुटु, कलेजो, फोक्सो र मस्तिष्कघात जस्ता गम्भीर रोगको उपचारका लागि यो रकम न्यून भएको गुनासो आइरहेको थियो । बीमितलाई ५ लाखसम्मको उपचार सुविधा दिन स्रोत व्यवस्थापनका लागि मन्त्रालयले विभिन्न उपायहरू प्रस्ताव गरेको छ । संघीय, प्रदेश र स्थानीय सरकारले स्वास्थ्य सेवामा खर्च गर्ने वार्षिक ३१ अर्ब रुपैयाँ बीमा कोषमा समावेश गर्ने, सरकारी तथा गैरसरकारी कर्मचारीको तलबको २ प्रतिशत बीमा कोषमा जम्मा गर्ने, स्वास्थ्य कर दोब्बर गर्ने र विद्युत शुल्कको १ प्रतिशत बीमा कोषमा समावेश गर्ने योजना रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।राज्यले लिने करको ०.५ प्रतिशत बीमा कोषमा हाल्नुपर्ने र डिजल, पेट्रोल, ग्याँसबाट बूढीगण्डकी आयोजनामा दिएको पैसालाई बन्द गरेर बीमा कोषमा लैजानुपर्ने मन्त्री पौडेलको भनाइ छ ।