images

४ महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको बिजुली भारतमा निर्यात

काठमाण्डौ । चालू आर्थिक वर्ष आर्थिक वर्ष २०८१\८२ को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले चालू आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी बाँकी भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट बिजुली भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको बिजुलीको औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको बिजुली भारतीय ऊर्जा एक्सचेन्ज आईएक्स को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि बिजुली निर्यात शुरू भइसकेको छ ।  भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ भारु मा हुने गरेको छ । त्यसैले प्राधिकरणले बिजुली बिक्री गरी (भारु) आम्दानी गरिरहेको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढी पहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुगी बिजुली उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताउनुभयो ।