काठमाण्डौ । पहिलो टेस्ट क्रिकेटमा भारतले घरेलु टोली अस्ट्रेलियालाई ५ सय ३४ रनको लक्ष्य दिएको छ । खेलको तेस्रो दिनको चिया समयपछि भारतले ६ विकेट गुमाउँदै ४ सय ८७ रन बनाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको हो । दोस्रो पारीमा भारतका यशस्वी जयसवाल र विराट कोहलीले शतक बनाए । जयसवाल १ सय ६१ रनमा आउट हुँदा कोहली सय रनमा नटआउट रहे । कोहलीले टेस्ट क्रिकेटमा ३०औं शतक प्रहार गरे । यस्तै केएल राहुलले ७७ रन बनाए । अस्ट्रेलियाका नायन लायनले २ विकेट लिए ।
भारतले दिएको ५ सय ३४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले तेस्रो दिनको खेल सकिँदा ३ विकेट गुमाएर १२ रन बनाएको छ । अस्ट्रेलियाका मार्नस लाबुशेन ३, कप्तान प्याट कमिन्स २ रन बनाएर आउट हुँदा नाथन म्याकस्वीनी शून्यमै आउट भए । भारतका कप्तान जसप्रीत बुमराहले २ र मोहम्मद सिराजले १ विकेट लिए ।
यसअघि पर्थमा टस जितेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा १ सय ५० रन बनाएको थियो । भारतका नितिश रेड्डीले सबैभन्दा धेरै ४१ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवूडले ४ विकेट लिए । यस्तै अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमा अलआउट भएको थियो । खेलको दोस्रो दिनको खाना समयअघि घरेलु टोली अस्ट्रेलिया १ सय ४ रनमै समेटिएको हो । अस्ट्रेलियाका मिचेल स्टार्कले सबैभन्दा धेरै २६ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराहले ५ विकेट लिए ।